नेपालगन्ज । नेपालगन्ज विमानस्थलको नयाँ अत्याधुनिक टर्मिनल भवन निर्माणको काम तिव्ररुपमा भइरहेको छ । हालसम्म पैत्तिस प्रतिशत काम सम्पन्न भइसकेको नेपाल नागरिक उडड्यन प्राधिकरणका इन्जिनियर सुरेश यादवले जानकारी दिए । अपेक्षा गरिए भन्दा तिब्ररुपमा काम भइरहेको हो ।
विमानस्थल कार्यालयको २० वर्षे गुरुयोजना अनुसार करिब ३ अर्ब रुपैयाँको लागतमा अत्याधुनिक टर्मिनल भवनसहित रनवे, पार्किङ एरिया लगायत पुर्वाधार निर्माणको काम भइरहेको हो । शर्मा एण्ड कम्पनीले सन् २०२२ डिसेम्बर १६ बाट काम शुरु गरेको थियो । सम्झौता अनुसार टर्मिनल भवन निर्माणको काम सन् २०२५ डिसेम्बर १५ मा सम्पन्न गरिसक्नुपर्ने छ ।
अत्याधुनिक टर्मिनल भवन मापदण्डअनुसार भन्सार, अध्यागमन, क्वारेन्टाइन सहित आन्तरिक र अन्तराष्ट्रिय दुबै किसिमका हवाई उडानका लागि निर्माण हुने सम्बद्ध अधिकारीले बताएका छन् । उक्त टर्मिनल भवन भब्य र सुविधाजनक पूर्वाधारकारुपमा रहने छ । पश्चिम नेपालको शहर नेपालगन्ज विमानस्थललाई केन्द्र बनाएर पश्चिम पहाडको बिमानस्थलमा जनतालाई सेवा दिने सरकारको उद्देश्य पनि रहेको छ । भविष्यमा नेपालगन्जबाट अन्र्तराष्ट्रिय उडान सुरु गर्ने सरकारको लक्ष्य छ । ठेकेदार कम्पनीका प्रतिनिधी सौरभ शर्माले दुई तल्ला सहितको अत्याधुनिक टर्मिनल भवन निर्माणको काम तोकिएको समय अगाडी नै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका छन् ।
‘हाल स्टकचरको काम सम्पन्न गर्ने र त्यसपछि त्यसपछि फिनिसिङको काम गर्न हामीलाई एक÷डेढ वर्ष जति लाग्न सक्छ,’ शर्माले भने ‘तोकिएको समयभन्दा ५÷६ महिना अगाडी विमानस्थल कार्यालयलाई भवन हस्तान्तरण गरिसक्ने लक्ष्य छ ।’ केही समयअघि सामाग्रीको अभाव सिर्जना भएपनि निर्माण सामाग्री स्टक राखेरै काम गरिएको थियो ।