तस्करीको चामललाई नेपाली ब्रान्डकाे बनाएर बेच्छन् नेपालगन्जका व्यापारी


नेपालगन्ज २४ मंसिर । भारतबाट तस्करी गरेर नेपालगन्ज भित्रइएको चामल नेपाली बोरामा प्याक गरेर बेच्ने गरेको पाइएको छ । त्यस्तो कार्यमा यहाँका प्रतिष्ठित व्यापारीनै संलग्न छन् । रुपैडियाबाट भंसार छलेर ल्याएको सस्तो चामल नेपाली ब्राण्ड भन्दै उपभोक्तालाई महंगोमा बेच्दै आएका तीनवटा चामल उद्योगमा प्रहरीले छापामारेर कैफियत भेटेपछि यस्तो रहस्य खुलेको हो ।

नेपालगन्ज—१ सुनिल गुप्ताले सँचालन गरेको लता आधुनिक चामल उद्योगबाट चामल १ सय ३६ बोरा, मंगल प्रसाद वैश्यले संचालन गरेको शिवम ट्रेडर्स बाट चामल २८ बोरा, वारिस गुप्ताले संचालन गरेको न्यु राज ट्रेडिङबाट चामल ४४ बोरा बरामद भएको छ ।

तिन लाख त्रिपन्न हजार छ सय मूल्य बराबरको चामल बरामद भएको जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायाण डाँगीले बताए । उनका अनुसार, भारतबाट नेपाल तर्फ भन्सार छली चोरी पैठारी गरि ल्याएका चामलहरू लुकाई छिपाई पल्टि (नेपाली बोरामा भरिरहेको) भन्ने सूचनामा आधारमा प्रहरीले छापा मारेको हो ।

उक्त सूचनाका आधारमा प्रहरी टोलिले उक्त पल्टी गरेको स्थानबाट खानतलासी गर्दा चामलहरू बरामद गरी आवश्यक कारबाहीको लागि भन्सार कार्यालय नेपालगंज बाँकेमा पठाएको डिएसपी डाँगीले बताए ।

प्रकाशित मितिः     २४ मंसिर २०८०, आईतवार ०७:५३  |