नेपालगन्ज । राष्ट्रिय वाणिज्य बैंकको लुम्बिनी प्रादेशिक कार्यालय नेपालगन्जबाट बुटवल लैजान लागेको सुईको पाएपछि यहाँका उद्योगी,व्यवसायी अवेर साँझ बैंकमा पुगेर ताला लगाइदिए ।
हतारहतारमा यसरी बैंकको कार्यालयमा तालाबन्दी गर्नुको कारण खोतल्दै नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चिरञ्जीवी ओली भन्छन्,—‘एकपछि अर्को गरी सकारी कार्यालय सारेको सा¥यै गर्नाले वाक्क भएका थियौं । त्यसैको प्रतिरोध स्वरुप सांकेतिकरुपमा बैंकमा तालाबन्दी गर्न बाध्य भएका हौं ।’
पछिल्लो एक दशकयता बाँकेबाट दर्जनौ सरकारी कार्यालय अन्त सारिएका छन् । राष्ट्रिय बाणिज्य बैंक त एउटा उदाहरण मात्रै हो । सरकारी र गैरसरकारी कार्यालय अन्त सारेको सा¥यै भएको देखेर हैरान भएको नेपालगन्जको मनोबिज्ञान बुझेरै नेपालगन्ज उद्योग वाणिज्य संघले सार्न लाग्दै गरेको कार्यालयलाई रोक्न तालाबन्दी गर्नपर्ने अवस्था आएको अध्यक्ष टंकबहादुर धामीले बताए ।
हरेक व्यवस्था फेरिएपच्छिै नेपालगन्जबाट यसरी सरकारी कार्यालय सारिन्छन् । नेपालगन्जका पूर्व मेयर एवं बरिष्ठ राजनीतिज्ञ बिजय गुप्ताकै शब्दमा व्यवस्था फेरिएसंग सरकारी कार्यालय सारेको सा¥यै हुनु नेपालगन्जको नियती जस्तो बनेको छ । ‘ नेपालगन्जप्रति नीति निर्माताको हेर्ने दृष्टिकोण ठिक देखिदैन् ।’— उनी भन्छन्,—‘नेपालगन्जलाई प्रशासनिक केन्द्र बन्न नदिने सोंच पहिल्यैदेखि हावी भएको मैले महसुस गरेको छु ।’
२०४६ सालअघिसम्म नेपालगन्ज पश्चिम नेपालको केन्द्र थियो । त्यसयता विकासक्षेत्र बनेपछि साविक मध्यपश्चिमको केन्द्र बन्यो । कागजतीरुपमा सुर्खेत क्षेत्रीय सदरमुकाम भएपनि कार्य संचालन नेपालगन्जबाटै हुन्थ्यो । शाहीशासनकालमा नेपालगन्जमा रहेका क्षेत्रीय कार्यालय रातारात सारियो । उतिबेला यही बिषयमा नेपालगन्ज भर्सेज सुर्खेत बनाएर द्धन्द्ध मच्चाई राजनीतिको रोटी सेक्ने काम भएको धेरैको बुझाई छ ।
संघीयता कार्यान्वयन पछि त नेपालगन्जलाई प्रशासनिकरुपमा सुर्खेत (कर्णाली प्रदेश) बाटै अलग गरियो । सुर्खेतसंगको द्धन्द्ध अन्त्य भयो तर नेपालगन्जबाट कार्यालय सार्ने क्रम रोकिएन । बिगतमा नेपालगन्जबाट सुर्खेत मात्रै कार्यालय सारिन्थ्यो तर अहिले त कुनै दाङ्ग,रुपन्देही त कुनै कार्यालय धनगढीसम्म लगियो । संघीयता कार्यान्वयनका लागि भन्दै यहाँ बर्षौदेखि रहेका क्षेत्रीयस्तरका कार्यालय प्रादेशिक कार्यालयमा रुपान्तरण गरेर अन्यत्र सारिएको हो । ‘नेपालगन्जलाई प्रादेशिक राजधानी बनाउनुपर्छ भन्ने माग राखेका थियौं । राजधानी बन्नु त कहाँ हो कहाँ झन् झन् कार्यालयहरु अन्त सारेर रित्तो बनाउन थालियो ।’—राजनीतिज्ञ पशुपतिदयाल मिश्र भन्छन्,—‘यसलाई नेपालगन्जले रुचाएको छैन । यसले यहाँको विकासमा कतै न कतै प्रभाव पार्छ भन्ने धेरैको बुझाई छ ।’
पूर्व मेयर बिजय गुप्ता नेपालगन्जले बिकेन्द्रीकरणलाई आत्मसाथ गर्ने तर यहाँको भविष्य एवं विकासका लागि राज्यका निती निर्माणतासंग प्रश्न उठाइरहने बताउँछन् । उनी भन्छन्,—‘सबै प्रशासनिक केन्द्र नेपालगन्जमै हुनुपर्छ भन्ने मान्यता नेपालगन्जले राख्दैन । हामीले पनि अधिकारको बिकेन्द्रीकरणलाई स्वीकार गर्छ तर अन्त कार्यालय थपिएको थप्यै हुने यहाँ भने सारेको सा¥यै गर्ने कुरा ठिक होइन ।’ नेपालगन्जले आफुलाई आर्थिक,शैक्षिक एवं स्वास्थ्य लगायतको क्षेत्रमा बिबिधिकरण गरेर अगाडी बढ्ने अथाहा सम्भावना रहेकोले त्ययतातर्फ बहस गर्नुपर्ने आवश्यकता देखिएको गुप्ता बताउँछन् । उनी भन्छन्,—‘आफ्नो भविष्यका लागि नेपालगन्जले नयाँ ढंगबाट सोच्नुपर्छ र राज्यलाई प्रश्न गरिरहनुपर्छ ।’
नेपालगन्ज आर्थिक केन्द्रका रुपमा स्थापित छ । आफ्नो भविष्यका लागि बिबिधतायुक्त बिकल्पको खोज्दै गएपनि यहाँ रहेका कार्यालयहरु व्यवस्था फेरिएपिच्छै अन्त सारिरहनुपर्ने आवश्यकता किन पर्यो भन्ने प्रश्न संधै उठिराख्ने सर्बसाधारणको भनाई छ । यहाँ रहेका सुविधा सम्पन्न भवनलार्य गोदाममा परिणत गरेर कार्यालय सारिएको नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष धामी बताउँछन् । कारकाँदोमा रहेको नेपाल टेलिकमको करोडौंको लगानीमा बनेको सुविधा सम्पन्न भवन यतिबेला गोदामघर बनेको छ । यहाँका कर्मचारीलाई सुर्खेत र भैरहवा पठाएपछि यो कार्यालय गोदामघर जस्तो बनेको छ । यस्ता थुप्रै सुविधासम्पन्न भवन कर्मचारी बिहिन भएका छन् ।