कोरिया पठाइदिने भन्दै पैसा उठाउने गिराेह खजुरामा सक्रिय


‘यस्ता भ्रमहरुमा कोहि नपरौ, रकम दिएको सवुत प्रमाण राखौ ! बेलैमा प्रहरी , प्रशासनलाई सूचना दिऔ । ठग्ने,ठगिने धन्दाबाट बेलैमा सतर्क रहौं ।’

— श्रवणकुमार पोखर,सिडिओ बाँके

नेपालगन्ज २५मंसिर । नेपाल सरकारले मात्रै दक्षिण कोरियामा कामदार पठाउँछ । कुनै पनि म्यानपावर कम्पनीले पठाउन सक्दैनन् । तर बाँकेको खजुरा गाउँपालिकाको घर—घरमा कोरिया जाने झुटो हल्ला फैलिएको छ । आर्कषक रोजगारीको गन्तव्य कोरिया पठाउने हल्ला कुन र कस्तो गिरोहले फैलाएर सोझा सर्वसाधारणलाई ठगिरहेको छ भन्ने बिषयमा कुनै पनि निकायले छानिवन गरेर यथार्थ पत्ता लगाउन सकेको छैन ।

पालिकाकै संलग्नतामा मौसमी कामदार पठाउने हल्ला फैलाइएको छ । त्यसका लागि रु ३ लाख तिर्नुपर्ने र त्यसरी पैसा दिएकाहरुलाई चिठ्ठाबाट छनोट गर्नेसम्म भनिएको छ । कतिको त राहादानी समेत संकलन गरेको भन्न भ्याएका छन् । यस्तो हल्ला चलाउनेहरु खुलेआम हिड्दा समेत कारवाही भइरहेको छैन ।

खजुरागाउँपालिका—३ का सबिन केसी स्थानीय सरकारको कोटा हो भन्दै कोरिया पठाइदिने झुटो हल्ला फैलिएको बताउँछन् । यस्तो झुटो हल्ला बारे सचेत रहन आग्रह गर्दै उनी सामाजिक संजालमा लेख्छन्,—‘कोरियन भाषा उतिर्ण गरेर प्रक्रिया पुरा गरेर मात्रै जान पाइने सत्य कुरालाई बिर्सिएर कोही हल्लाका पछि नलाग्नुहोला ।’ यस्तो हल्ला अहिले खजुराभर भुसको आगो झैं फेलिएको छ ।

सर्बसाधारण ठगिने गरी फैलिएको भ्रमका बारेमा जनप्रतिनिधिदेखि जिल्ला प्रशासन कार्यालय बाँकेसम्मलाई ध्यानार्कषण भएको छ । तर यि निकायले कुन नियतले कस्ले यसरी हल्ला फैलाएको छ भन्ने अनुसन्धान गरिरहेका छन् । हल्ला मात्रै फैलिएको हो वा सर्बसाधारण ठगिएका छन् भन्ने बिषयमा गहिरो अनुसन्धान गर्न जरुरी रहेको स्थानीय बताउँछन ।

खजुरा गाउँपालिका वडा नं. २ का अध्यक्ष धनराम ओलीले जुरा गाउँपालिका सरकारका तर्फबाट दक्षिण कोरियाका लागी कामदार पठाउन थालिएको विषय के हो ? भन्दै प्रश्न सोधेर हैरान पारेको बताउँछन् । ‘पालिकाका कतिपय स्थानमा दक्षिण कोरिया पठाउने भन्दै रकम लिनेदिने कार्य भएको छ गरे ? हाम्रो वडामा (खजुरा—२) कतिजनाको कोटा छ ?’— भनेर प्रश्न सोधेर हैरान पारेको बताउँदै उनी भन्छन्,—‘ सम्पर्क कहाँ र कसलाइ गर्ने हो ? भन्दै अधिकांश हाम्रै सचेत वडाबासी र केही अन्य वडावासीका तर्फबाट स्वयं वडा अध्यक्ष, वडा सदस्य र कार्यालयका कर्मचारीहरुसंग समेत फोनबाट जानकारी लिन खोजिएको छ ।’

हल्ला फैलिएपछि त्यसलाई रोक्न सूचनानै प्रकाशित गरेर सचेत बनाइएको अध्यक्ष ओलीले बताए । हालसम्म नेपाल सरकारको कुनैपनि निकायबाट वडा कार्यालयमा दक्षिण कोरियामा नेपाली कामदार पठाउने विषयमा आधिकारीक पत्राचार नभएकाले अनर्गल रूपमा फैलिएको हल्लाका पछि नलाग्न अनुरोध गरिएको उनले जानकारी दिए ।

बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण पोखरेलले यस्तो हल्ला पछि नलाग्न अपील गरेका छन् । खजुरा गाउँपालिका क्षेत्रमा कोरियन रोजगारीको नाममा ठगी धन्दा शुरु हुन लागेको भन्ने हल्ला बाहिरिएको प्रमुख जिल्ला अधिकारी पोखरेलले जानकारी दिए । बिगतमा यस्तै प्रकृतिको ठगी प्रकरण ईलाम जिल्लामा पनि भएको थियो बताउँदै उनले त्यहाँ ठगिएका ब्याक्तिहरुले प्रमाण राख्न नछुटाएका कारण न्याय दिन सकिएको जानकारी दिए ।

‘ खजुरा क्षेत्रमा पनि कोरियन रोजगारीको नाममा यदि कसैले ठगी धन्दा गरिरहेको छ भने ईलामेलीले जस्तै प्रमाण राख्न नभुल्नु होला । त्यस्ता दलालहरुको सूचना बेलैमा प्रशासन , प्रहरिमा सप्रमाण दिनु होला ।’— प्रमुख जिल्ला अधिकारी पोखरेलले भने ।

कोरियन रोजगारी जिटुजी अर्थात सरकारबीचको सहमतिबाट मात्र हुने भएकाले अरु देशमा जस्तो म्यानपावरले वा कुनै व्यक्ति बिशेषले कोरिया नपठाउने बताउँदै पोखरेल भन्छन्,—‘ नेपाल सरकार र कोरियन सरकार बिचको सम्झौता अनुसार भाषा परिक्षाको माध्यमबाट छनौट भएकालाई एकलौटी नेपाल सरकारले मात्र पठाउँन सक्छ ।’
“मौसमी कामदार“ भन्ने पनि भ्रम मात्रै भएको प्रमुख जिल्ला अधिकारी पोखरेल बताउँछन् ।

मौसमी कामदारको नाममा बिगतमा भएको मानव तस्करीबाट पाठ सिकेर सरकारले अहिले सम्म कुनै पनि स्थानिय तहलाई मौसमी कामदारको नाममा कोरिया पठाउने अनुमती नदिएको बताउँदै उनी भन्छन्,—‘यस्ता भ्रमहरुमा कोहि नपरौ , रकम दिएको सवुत प्रमाण राखौ ! बेलैमा प्रहरी , प्रशासनलाई सूचना दिऔ । ठग्ने,ठगिने धन्दाबाट बेलैमा सतर्क रहौं ।’

प्रकाशित मितिः     २५ मंसिर २०८०, सोमबार ०७:४१  |