सिद्धार्थ रिभरसाइड रिसोर्ट थप आकर्षक बन्दै,लगानी विस्तार


काठमाडौं। चितवन चुम्लिङटारस्थित सिद्धार्थ रिभरसाइड रिसोर्टले थप लगानी विस्तार सुरु गरेको छ। रिसोर्ट आउने ग्राहक बढिरहेपछि अझै उत्कृष्ट सेवा र सुविधा दिने उद्देश्यसाथ करिब ३५ करोड रुपैयाँ लगानी थप गरी स्तरोन्नति भइरहेको छ।

सिद्धार्थ हस्पिटालिटीद्वारा सञ्चालित सिद्धार्थ रिभरसाइड रिसोर्टमा हाल २६ कोठाहरु र ५ टेन्ट छन्। ग्राहक मागअनुसार अब रिसोर्टलाई स्तरोन्नति (अपग्रेड) गरी अरू ३५ देखि ४० कोठा थप गर्ने काम भइरहेको महाप्रबन्धक प्रमोद भट्टराईले जानकारी दिए। योसँगै रिसोर्टमा ५५ भन्दा बढी कोठा हुनेछ।

रिसोर्ट आउने ग्राहकलाई थप सुविधा दिन स्पा, फिटनेस सेन्टर र ब्यांक्वेट हलसमेत थप गरी चार तारे रिसोर्टका रूपमा सञ्चालन गर्न लागिएको उनको भनाइ छ। हाल रिसोर्ट तीनतारे स्तरको रहेको छ।

हाल सञ्चालनमा रहेको रिसोर्टसँगै थप कोठाका लागि भवन निर्माण जारी छ। गत दसैंदेखि निर्माण सुरु गरिएको उक्त भवनको काम २०८१ दसैंभित्रमा सम्पन्न गरी सञ्चालनमा ल्याइसक्ने गरी काम भइरहेको महाप्रबन्धक भट्टराईको भनाइ छ।

नयाँ बन्ने कोठा सुइट, प्रेसिडेन्सियल सुइट र डिलक्स हुने छन्। हाल सञ्चालनमा रहेको रिसोर्टमा भने डिलक्स र स्ट्यान्डर्ड रुममात्र रहेको छ। पछिल्लो समय रिसोर्टमा आउने ग्राहकले सुविधासम्पन्न कोठा खोजी गर्ने क्रम पनि बढेको र राजमार्ग क्षेत्रमा यस खालको रिसोर्ट तथा होटल नभएकाले त्यसलाई पूर्ति गर्नका लागि लगानी थप गरिएको हो।

तीन बिघा क्षेत्रफलमा फैलिएको रिसोर्टमा करिब ३५ करोड रुपैयाँ लगानी थप गर्न लागिएको सिद्धार्थ हस्पिटालिटीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण न्यौपानेले जानकारी दिए।

पछिल्लो समय भारतीय एवं नेपालीले पनि होटल तथा रिसोर्टमा गएर विवाह गर्ने चलन बढाउन थालेको भन्दै रिभरसाइड रिसोर्टलाई ‘वेडिङ डेस्टिनेसन’ (विवाह गन्तव्य) का रूपमा विस्तार गर्ने योजनासाथ लगानी थपिएको उनले बताए।

केही भारतीयले रिसोर्टमा आएर विवाहसमेत गरिसकेका छन्। ठूलो संख्यामा पाहुना राख्नका लागि ठाउँ अपुग भएकाले कोठा थप गर्न लागिएको उनको भनाइ छ। रिसोर्टमा रेस्टुरेन्टसमेत थप हुनेछ।

मनकामना केबुलकारमा यात्रा गर्न आउने भक्तजन र त्यस क्षेत्रमा यात्रा गर्ने यात्रुलाई एक दिन बस्नका लागि सहज बनाउन रिसोर्टमा साहसिक गतिविधिहरू समेत थप्न लागिएको उनले बताए।

रिसोर्टमा बालबालिकाहरुलाई खेल्नका लागि छुट्टै ठाउँ बनाउन लागिएको छ। हाल रिसोर्टमा स्विमिङ पुल, खेल मैदान र बगैंचाको व्यवस्था छ।

रिसोर्टमा विभिन्न कर्पोरेट हाउसले बेला–बेला आफ्ना कर्मचारी, डिलरलाई रिट्रिट दिने गन्तव्यका रूपमा समेत रिसोर्ट विस्तार भइरहेको छ। सुरुमा पृथ्वीराजमार्ग आवातजावत गर्ने यात्रुलाई खाना र खाजा खुवाउने उद्देश्यसाथ सिद्धार्थ कटेजका रूपमा स्थापना भएको थियो।

प्रकाशित मितिः     २५ मंसिर २०८०, सोमबार ०८:४१  |