नेपालगन्ज । बाँके र बर्दियाका व्यवसायीले सोमवार नेपाल राष्ट्र बैंक नेपालगन्ज र जिल्ला प्रशासन कार्यालय बाँकेमा ज्ञापनपत्र बुझाउँदै ऋण असुलीका नाममा बैंक तथा वित्तीय संस्थाले टर्चर गरेको आरोप लगाएका छन् ।
बैंक तथा वित्तीय संस्थाका प्रतिनिधि ऋण असुलीका नाममा ब्यवसायीको घरघरमा पुगी मानसिक यातना दिने साथै सामाजिक दूब्र्यवहार गरेका कारण बिहान उठेर घर बाहिर बस्ने र राति सुत्नको लागि मात्र घरमा आउने अवस्था सिर्जना भएको उनीहरुको भनाई छ । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाईमा भएको सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाइएको थियो ।
ज्ञापनपत्रमा खासगरी विश्वव्यापी फैलिएको कोरोना भाइरस कोबिड १९ का कारण पहिलो, दोस्रो र तेस्रो चरणको लकडाउन भएको अवस्थामा नेपाल लगायत बाँके, बर्दिया जिल्लाका उद्योगी ब्यापारीले १५ महिना पूर्ण रुपमा ब्यापार ब्यवसाय बन्द गरेतापनि बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणकोे ब्याज, हर्जना, तलब,घरभाडा लगायत राज्यलाई तिर्नुपर्ने कर सबै ब्यवसायी सम्पत्ति बेचेर भए पनि बैंक तथा वित्तीय संस्थाको किस्ता जम्मा गरेको उल्लेख छ ।
यस्तो विषम परिस्थितिमा पनि राज्यका नियमनकारी निकाय नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई कुनै पनि नियमन गरेको नदेखिएको अध्यक्ष टंकबहादुर धामी बताउँछन् । त्यस पछिका दिनमा बैंक तथा वित्तीय संस्थाको ब्याजदर असमान्य रुपमा बृद्धि हुनु, आर्थिक मन्दी लाग्नु जस्ता कारणले ब्यापार ब्यवसाय घट्दै जानु बैंक तथा वित्तीय संस्थाको ब्याजदर सम्झौता गरिए भन्दा दोब्बर प्रतिशतको बृद्धि भयो ।
बैंक तथा वित्तीय संस्थाको ब्याजदरले गर्दा ब्यापार ब्यवसाय धरासयी हुन गइ बैंक तथा वित्तीय संस्थाको ब्याज तथा ऋण तिर्न नसक्दा कति परिवार घरबार बिहीन भइ सडकको बास बस्नु परेको ज्ञापनपत्रमा उल्लेख छ ।
‘कति आत्महत्या गरेका छन् भने कति परिवारमा बिखण्डन भएको तथा विदेश पलायन भएको यत्रतत्र सर्वत्र देख्न पाइन्छ । अर्कोतिर राज्यको भन्सार नीतिमा कडाइ नहुँदा सीमापार ब्यवसाय फस्टाइ रहेको र सीमावारी ब्यापार खुम्चियको पाइन्छ ।’ ज्ञापनपत्रमा भनिएको छ,–‘यस अवस्थाले राज्यलाई करमा दैनिक करोडांै नोक्सान भइ राजश्व चुहावट भई रहेको छ । सरकारले भन्सार नीतिलाई राज्यका सबै संयन्त्र परिचालन गरी भन्सारबाट आयात तथा निर्यात हुने सबै सामाग्रिमा कर नीति लागु गरि तथा नितिगत रुपले तत्काल कार्यान्वयन गर्न यो सर्घष समिति जोडदार माग गर्दछ ।’