औद्योगिक व्यापार मेलामा अटाे स्टलकाे आकर्षक


पाेखरा । पोखरामा हाल ‘राष्ट्रिय औद्योगिक व्यापार मेला चलिरहेको छ । मंसिर २१ देखि प्रारम्भ भएको सो मेलामा अन्य कुराका अतिरिक्त सवारी साधनको स्टल समेत छ । पश्चिमाञ्चल अटोमोबाइल्स डिलर्स एसोसियसन (वाडा) ले सो मेलामा सवारी साधनको स्टल समेत राख्ने व्यवस्था मिलाएको छ ।

मेला परिसरमा छिर्नासाथ विभिन्न मोडलका गाडी तथा मोटरसाइकलहरु हेर्न पाइन्छ । यो पटकको मेलामा २४ वटा स्टलमार्फत् विभिन्न कम्पनीहरुले गाडी र मोटरसाइकल अनि स्कुटरहरुको प्रदर्शन गरिरहेका छन् । र, अहिलेको मेलामा प्रदर्शनमा राखिएका अधिकांश सवारी साधनहरु विद्युतीय (ईभी) रहेका छन् । अटोका स्टलमा दर्शकको आकर्षण बढेको छ ।

वाडाका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठका अनुसार पोखरामा भएको अटो प्रदर्शन काठमाडौंपछिको सवैभन्दा बृहत र ठूलो हो । काठमाडौंमा हुने नाडा अटो शोको झल्को समेत यसले दिने गरेको छ ।

‘सवारी साधनको माग काठमाडौंमा बढी छ र त्यहाँ हुने अटो सोहरु भव्य हुने गर्छन्, काठमाडौं बाहिर भने पोखरामा आयोजना हुने यो प्रदर्शनी नै सवैभन्दा ठूलो हो । यहाँको मेलामा नयाँ मोडलका गाडी र दुईपाङ्ग्रे सवारी साधनको लन्चिङ पनि हुने गरेको छ ।’ श्रेष्ठ भन्छन् ।

योपटक उपभोक्ताको बदलिँदो स्वभावलाई ध्यानमा राख्दै विद्युतीय (ईभी)को प्रदर्शनी र प्रवद्र्धन भएको वाडाका उपाध्यक्ष ताथ मेलाका अटो संयोजक दीपेन्द्र कोइरालाले बताए । ‘अहिले नेपालमा बढीमात्रामा विद्युतीय गाडीहरु भित्रिएका छन्, एकसे एक कम्पनीहरुले बजारमा नयाँ–नयाँ योजनासहित गाडीहरु ल्याइरहेका छन्, त्यसको प्रवद्र्धन हुने नै भयो’, उनले भने, ‘अर्को कुरा, पेट्रोल र डिजल इञ्जिनका गाडीहरुको नयाँ मोडल अंग्रेजी पात्रोको जनवरीपछि मात्र आउने भएकाले पनि इभीले बढी ठाउँ पायो । प्रदर्शनी र प्रवद्र्धन गर्ने भनेकै नयाँको हो ।’

प्रदर्शनीमा राखिएका विद्युतीय सवारी साधनप्रति सहभागीहरुले चासो राख्ने गरेको र व्यापार पनि राम्रै भएको व्यवसायी प्रदीप पहारीको भनाइ छ । सेग्वे कम्पनीका स्कुटरहरुको आधिकारिक बिक्रेतासमेत रहेका पहारीले आइतबार मेलास्थलबाटै एउटा स्कुटर बिक्री गरे । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको हातबाट ग्राहकलाई स्कुटरको चाबी हस्तान्तरण गरियो ।

अघिल्लो वर्ष मेलास्थलबाटै ५ वटाभन्दा बढी स्कुटर बिक्री भएको स्मरण गर्दै उनले थपे,‘विद्युतीय सवारीप्रतिको रुची बढ्दो छ तर युवा पलायन हुँदा उपभोक्ता घट्दै गएको अनुभूति चाहिँ भएको छ । ’ मेलामा रहेका अटोका विभिन्न स्टलबाट गाडी र स्कुटरहरुको बुकिङ भइरहनु सन्तोषको विषय भएको उनले सुनाए ।

मेलामा दीपलक्ष्मी ब्राइट इन्टरनेसनल प्रालिले मोरिस ग्यारेज (एमजी) का गाडीहरु प्रदर्शन र बिक्रीमा राखेको छ । एमजीको जेडएस इभी (डिलक्स), कमेट एमजी फोर अर्थात् सानो गाडी प्रदर्शनमा राखिएको दीपलक्ष्मीकी मेनुका गुरुङले बताइन् । कमेटको मूल्य १७ लाख ९९ हजार र एमजीको जेडएस डिलक्सको मूल्य ५२ लाख ९ढ हजार अनि एमजी फोरको ५८ लाख ९९ हजार रुपैयाँ रहेको उनले जानकारी दिइन् ।

यस्तै विश्वकर्मा अटो मोटर्सले मेलामा नेटा र किङलङ ब्राण्डका ईभी प्रदर्शनमा राखेको छ भने टेनिसा मोटर्सले ओरा,प्लग इनले बीवाइडीका गाडीहरुको प्रवद्र्धन गरिरहेको छ ।

नेपालमा प्रसिद्ध रहेको तथा मेलाको मुख्य प्रायोजकसमेत रहेको हुन्डाईले पनि ईभीलाई प्रवद्र्धन गरिरहेको छ भने थापा मोटर्सले सेरेस ३, बतास ब्रदर्सले महिन्द्रा, चालिसे मोटर्सले सुजुकीका ईभी स्कुटर प्रदर्शनमा राखेको छ ।

मेलामा कुसा क्यू, इसुजुको हाइल्याण्डर, अटोवेज प्रालिको ल्याण्डक्रुजर र कोरलाको पनि प्रवद्र्धन गरिएको छ । सेल्टोस, वारियर, सेग्वेहरुले पनि नयाँ उत्पादनहरुको प्रवर्दन गरिरहेको मेला आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले जनाएको छ  । मेला आगामी पौष १ सम्म चल्ने छ ।

 

प्रकाशित मितिः     २५ मंसिर २०८०, सोमबार १८:५६  |