टाइटानिकका हिरोले भदैलाई भेटे
विश्व वन्यजन्तु कोषले सन् २००८ मा टाइटानिक फिल्मका हिरो लियोनार्दो डी क्यापि्रयोलाई विश्वमा बाघ संरक्षणका लागि सदभाव दुत बनायो । लियो सुरुमै नेपाल आए । बाघको अध्ययन गर्न लियो बर्दिया राष्ट्रिय निकुञ्ज पुगे । त्यहीँ उनले सुने भदै मधुवन नगरपालिका-३ का भदै थारुका बारेमा ।
खात गाविसका भदैलाई खोज्दै उनी घरमै पुगेको त्यो क्षण निकै स्मरणीय रहृयो भदै थारुका लागि ।
बाघसँग भिडन्त भएको कहानी सुनेपछि एउटा आँखा गुमाएका भदैलाई अंकमाल गर्दै टाइटानिक हिरोले उनलाई सम्मान गरे । उनी लियोसँगको भेट सम्झँदै भन्छन् ‘तपाई जस्तो महान मान्छे मैले देखेको छैन भन्दै लियोनार्दो डी क्यापि्रयोले आफैंले लगाएको चश्मा निकालेर मलाई लगाइदिनु भयो ।’
भदैले यो चश्मा विषेश ठाउँमा मात्रै लगाउने गरेको बताए ।
लियोको चश्माले भदै थारुलाई मात्रै आकषिर्त गरेन । लियोको चश्मा लगाएको भन्दै थुपै्र युवतीहरुले सँगै फोटो खिचेको प्रसङ्ग सुनाउँदा भदै दंग थिए ।
टाइटानिकको हिरोले मात्रै भदैलाई भेटेनन् । बेलायतको एउटा फिल्म मेकरको टिम नै उनलाई खोज्दै करिब ५ वर्ष अघि बर्दिया पुगेका थिए । बाघ संरक्षणकै बारेमा बनाइएको फिल्ममा भदैले बेलायतकी नायिकासँग १५ मिनेटको भुमिका निर्वाह गरे ।
बाघको आक्रमण, बाघकै संरक्षण
भदै थारुले बाघसँग भिडेको १३ वर्ष भयो । सुरुमा त आफुलाई जंगली जनावरदेखि रीस उठ्ने गरेको भए पनि हिजोआज सबै भन्दा धेरै तिनकै माया लाग्ने गरेको उनी सुनाउँछन् ।
गौरी महिला सामुदायिक वनमा, मयुर, गैंडा, हात्ती, पाटे बाघ जस्ता जनावरहरु छन् । त्यसको संरक्षण गर्नु आफ्नो पहिलो कर्तव्य भएको थारुको बुझाइ छ ।
बाघ संरक्षणमा योगदान गुर्याएको भन्दै उनलाई केही पुरस्कारहरु पनि हात परेको छ । भारतको कटियाघाट जंगलसँग जोडिएकाले गौरी महिला सामुदायिक वनका जनावर र उताका जनावरको विशेष सम्बन्ध छ भन्छन् उनी । बाघ तथा जंगली जनावरको संरक्षणका लागि उनले एउटा गीतै रचेका छन् ।