बाँके निकुञ्ज घुमेपछि स्नेह हाेटलका चेयरम्यान दङ्ग


नेपालगन्ज । पश्चिम नेपालकाे पर्यटनकाे विकासमा नेपालगन्जकाे हाेटल स्नेह र त्यसका संचालक असित शमशेर राणाकाे नाम अगाडि आउँछ । नेपालगन्ज हुँदै बर्दिया राष्ट्रिय निकुञ्जदेखि कैलास मानसरोवरसम्ममा भइरहेकाे पर्यटन गतिविधिलाई अगाडि बढाउन राणाकाे भुमिका छ ।

कुनै बेला चर्चित बिदेशी निर्देशक एरिक भ्यालीले नेपालगन्ज सेल्टर बनाएर ‘हनी हन्टर’को सुट गर्दा स्नेहा होटललाई मुकाम बनाएका थिए। उनै एरिकले ओस्कर अवार्ड जित्ने फिल्म पनि बनाए – क्याराभान।

फिल्ममा उच्च हिमाली क्षेत्रको कला संस्कृति र जीवन संघर्षमात्र उतारेका थिएनन्, डोल्पाको सुन्दरतालाई पनि कैद गरेका थिए। फिल्मकै कारण फ्रान्स र युरोपका अन्य मुलुकबाट टन्नै इन्क्वेरी आउन थाल्यो। आफ्नै होटलमा बसेर निर्देशक एरिक भ्यालीले खिचेका दृश्यहरुले धेरैलाई नेपालतिर आउने वातावरण बनाएको थियो ।

हुम्ला, जुम्ला, डोल्पा जस्ता पहाडी जिल्लामा मौसमले हवाई उडानमा असर पार्थ्यो। पर्यटकहरु धेरै दिन नेपालगन्जमै अड्किन्थे। त्यतिखेर तिनै पर्यटकलाई रिक्सा र टाँगा चढाउँदै डुलाइन्थ्याे । कल्चरल टुरिजम् भन्दै मुस्लिम बस्तीका बजार, थारु बस्ती र खेतबारी पुर्‍याइन्थ्याे।

मानसरोवर यात्राले नै हो नेपालगन्जको पर्यटन विकासमा कोसे ढुंगा थपेको। त्यसपछि होटलहरु व्यापक हुन थाल्यो। सिमकोट र हिल्साका लागि हेलिकप्टरको बेस स्टेसन नै राँझामा रह्यो। भारतीय पर्यटकको त्यो फ्लो यतिखेर शून्यमा झरेको छ। चीनले भारतीयलाई तिब्बतको भिसा दिन रोक लगाएको छ। जसको असर नेपालगन्जका होटलमा भएका लगानीमाथि परिरहेको छ।

असित शमशेर राणा आफै पनि घुमफिरका साैखिन छन् । मंगलबार उनी बाँके राष्ट्रिय निकुञ्ज घुमे । निकुञ्ज घुमफिरपछि उनले बाँके निकुञ्ज असाध्यै राम्रो बनेकाे बताए । वन्यजन्तुप्रेमीले अवकाे एक बर्षमा याे ठाउँ अझ राम्रो पाउने बताए ।

प्रकाशित मितिः     २६ मंसिर २०८०, मंगलवार २१:२५  |