नेपालगन्ज । नेपालगन्ज उद्योग वाणिज्य संघको अगुवाइमा आन्दोलनरत बाँके,बर्दियाका व्यवसायीले उद्योग,प्रतिष्ठानको साँचो सरकारलाई बुझाउने चेतावनी दिएका छन् ।
दोस्रो चरणको आन्दोलनको घोषणा गर्दै बुधवार व्यवसाय तथा व्यवसायी उत्थान संघर्ष समितिले यस्तो घोषणा गरेको हो । समिति संयोजक टंकबहादुर धामीले संघर्षका कार्यक्रम घोषणा गर्दै आफ्ना मागहरु पुरा नभए उदोगी,व्यवसायीले उद्योग प्रतिष्ठानहरुमा ताला लगाएर सरोकारवाला निकायलाई चावी (साँचो) बुझाई कठोर आन्दोलन गर्ने चेतावनी दिए ।
त्यसपूर्व समितिले पौष २९ गते जिल्ला तथा नगर उद्योग वाणिज्य संघहरुमा आमसभा तथा आन्दोलनको तयारीका लागि भेटघाट, पौष ७ गते बृहद व्यवसायिक सभा पूर्व कोहलपुर, बासगढी,गुलरियामा कोणसभा गर्ने कार्यक्रम रहेको धामीले बताए ।
पौष ५ गते नेपाल राष्ट्र बैंक प्रादेशिक कार्यालय, जिल्ला प्रशासन कार्यालय,जिल्ला प्रहरी कार्यालय, भन्सार कार्यालय, वाणिज्य बैंकहरुसंग सरोकारवाला संघ,संस्था र व्यवसायीहरु बीच व्यवसाय तथा व्यवसायिक उत्थान कार्यक्रम चलाउने र नेपाल राष्ट्र बैंक नेपालगन्ज अगाडी धम्वोझीचोकमा बृहद व्यवसायिक आमसभा गर्ने घोषणा गरिएको छ । यति गर्दा पनि माग सुनुवाई नभएर उद्योग प्रष्ठिानमा ताला लगाएर सांचो सरकारलाई बुझाउने निर्णय गरिएको हो ।