स्यानिटरी प्याड निर्यात ४९४ प्रतिशतले बढ्याे


काठमाडौं । नेपालबाट हुने स्यानिटरी प्याड निर्यात ४९४ प्रतिशतले बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार नेपालले चालू आर्थिक वर्ष (आव)को चार महीनामा ४ करोड ५८ लाख ७० हजार ९३५ थान स्यानिटरी प्याड निर्यात गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा भने नेपालले ७७ लाख १७ हजार ४८ थान स्यानिटरी प्याड निर्यात गरेको थियो ।

निर्यात परिणाम बढेसँगै त्यसबाट भित्रिने रकम पनि बढेको छ । यसरी भित्रिने रकम गत आवको पहिलो चार महीनाको तुलनामा चालू आवको उक्त अवधिमा ५१६ प्रतिशतले बढेको छ । विभागका अनुसार चार महीनामा स्यानिटरी प्याड निर्यातबाट १२ करोड ६५ लाख ६७ हजार रुपैयाँ भित्रिएको छ । गत आवको सोही अवधिमा यस्तो रकम २ करोड ५ लाख ३५ हजार रुपैयाँ छ ।

नेपालबाट भारत, अमेरिका र फ्रान्समा स्यानिटरी प्याड निर्यात हुने गरेको छ । विभागका अनुसार चालू आवमा नेपालबाट सबैभन्दा धेरै प्याड भारत निर्यात भएको छ । पछिल्ला ४ महीनामा भारतमा मात्रै १२ करोड ६५ लाख ६५ हजार रुपैयाँको ४ करोड ५८ लाख ७० हजार ९२८ थान प्याड निर्यात भएको छ । त्यसैगरी अमेरिकामा २ हजार रुपैयाँको ३ पिस प्याड निर्यात भएको छ ।

प्रकाशित मितिः     २७ मंसिर २०८०, बुधबार १९:१०  |