ब्याजदर एकल अंकमा झार्न जसपा अध्यक्षकाे लिखित माग


काठमाडौं। सत्ता गठबन्धनभित्र कर्जाको ब्याजदर एकल अंकमा झार्न नेपाल राष्ट्र बैंकका गभर्नरलाई निर्देशन दिनुपर्ने आवाज उठेको छ।

जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष अध्यक्ष यादवले उपेन्द्र यादवले गठबन्धनको बैठकमा राष्ट्र बैंकका गभर्नरलाई बैंकहरुको ब्याजदर सिंगल डिजिटमा झार्न निर्देशन दिने लगायतका ५३ वटा लिखित सुझाव दिएका हुन्। गठबन्धनले सरकारका कामकारबाही प्रभावकारी बनाउने सम्बन्धमा सुझाव पेस गर्न यादवलाई जिम्मेवारी दिएको थियो।

उनले उद्योग सम्बन्धमा ६ वटा र कृषि सम्बन्धमा ७ वटा सुझाव दिएका छन्।

विगतमा मुनाफामा चलेका तर हाल बन्द रहेका उद्योग पुनर्संचालन गर्न, उद्योग व्यवसायमा लगानीकर्ताले बेहोर्नुपरेका प्रशासनिक झन्झट र ढिलासुस्ती अन्त्य गर्न, उद्योग संचालनका लागि लगानीकर्तालाई प्रोत्साहन गर्न, निवेदन दिएको १५ दिनभित्र आवश्यक पर्ने सबै प्रक्रिया पूरा गरी अनुमति दिन, विद्युत र बैंक ऋण ३० दिनभित्र उपलब्ध गराउने व्यवस्था गर्न सुझाव दिइएको छ।

यस्तै कोभिडका कारण उद्योग व्यवसाय संचालन गर्न नसकेकाहरुलाई करमा जरिवाना छूट दिन र कर किस्ताबन्दीमा तिर्ने व्यवस्था गर्न पनि सुझाव दिइएको छ।

संघ, प्रदेश र स्थानीय तहमा हुने निर्माण कार्य उपभोक्ता समितिलाई दिन नहुने उल्लेख गर्दै यादवले टेण्डर प्रक्रियाबाट मात्र गर्नुपर्ने सुझाव ५३ बुँदामा समेटेका छन्। उनले प्रदेश सरकारमा मन्त्रालयको संख्या घटाउनुपर्ने आवश्यकता औंल्याएका छन्।

कृषि र कृषिमा आधारित उद्योगलाई सरकारले ऋण, प्रविधिलगायत अन्य आवश्यक विशेष सहुलियत प्रदान गर्नुपर्ने भनिएको छ। यादवले २५ गतेको बैठकमा पेस गरेको सुझाव बुधबार सार्वजनिक गरिएको हो।

प्रकाशित मितिः     २७ मंसिर २०८०, बुधबार २१:०२  |