नेपालगन्ज । बाँकेको राप्ती नदीले बर्षायाममा बर्षेनी थुप्रै जमिन कटान गरेर बगर बनाइदिन्छ । यसरी बनेको बगर अरुका लागि कामै नलाग्ने भएपनि गौरी मिश्रा जस्ता मिहिनेती महिलाका लागि भने हरियो तरकारी उब्जिने गर्ने मलिलो जग्गा बनेको छ ।
डुडुवा गाउँपालिका –५ बेतहनीकी छत्तिस वर्षिया गौरी र श्रीमान भुवनेश्वरले दुई वर्षदेखि राप्ती नदीको बगरमा १२ बिगाह जग्गामा परबर,भाटा, लौका करेला जस्ता तरकारी उब्जिने गरेर नेपालगन्जमा बेचबिखन गरिरहेका छन्, त्यसरी बेचेको पैसाले परिवार चलाएका छन् छोराछोरी स्कुल पढाइरहेका छन् । नदीको बगरमा एउटा मात्र छाप्रो छ जहाँ बसेर बगरमा लगाइएको तरकारी निगरानी गर्छन त्यही खाना पकाइरहेको अवस्था भेटिइएकी गौरीले भन्दै थिइन,–‘बिहान मात्रै सत्तरी किलो परबर नेपालगन्ज पठाए,अब केही दिनमा फेरी टिप्नुपर्ला ।’
उत्पादन अघि बिउबिजनमा सहयोग गरेका नेपालगन्ज रानीतलाउ तरकारी बजारका ठेकेदार आफैले तरकारी खरिद दिन्छन् । नेपालगन्जमा प्रतिकिलो एक सय रुपैयामा बिक्री भइरहेको परबर गौरीबाट प्रतिकिलो साठ्ीमा खरिद गर्ने गरेका छन् । ढुवानी लगायतको खर्च ठेकेदारले व्यहोर्ने भएकाले आफुहरुलाई राम्रै मूल्य दिएको गौरी बताउँछिन् । ‘उत्पादन शुरु गर्दा उहाँहरुले सहयोग गर्नुभएको थियो त्यही भएर हामीलाई कुनै मर्का पार्नुभएको छैन ।’– गौरीले भनिन् ।
नेपालगन्जमा गत फागुणबाटै भारबाट परबर आउन बन्द भएको हो । अबको केही महिनासम्म राप्तीको बगरमा फलेको परबरले नै यहाँको बजार धान्ने गरेको रानीतलाउका तरकारी ब्यापारी सलिम अन्सारी बताउँछन् । त्यसपछि भने भारतकै उत्पादन भित्रिने गरेको छ ।
बगरमा तरकारी फलाउने सहास देखाएकी गौरी लामो समय नेपालगन्जका केही नीजि प्रतिष्ठानहरुमा सुरक्षागार्ड भएर काम गरिन । २०७४ सालको निर्वाचनमा म्यादी प्रहरी पनि भइन । तर चारवर्ष अगाडी बसपार्कमा दुर्घटनामा परेपछि थलिएर घरमै बसिन । सानैदेखि अरु महिला भन्दा भिन्न केही गरौं भन्ने हुटहुटी भएकी गौरीले ठिक हुने बित्तिकै बेतहनीमै कस्मेटिक पसल चलाइन तर त्यहाँ पसल चलेन ।
‘पसल नचलेपछि के गरौं के गरौं भनेर तनावमा थिए । त्यही बेला बिहारबाट आएका मान्छेहरुले बगरमा तरकारी खेती गरेको थाहा पाएर हेर्न गए । अरु आएर यस्तो गर्छन, हामीले किन नगर्ने भनेर मैले पनि शुरु गरे ।’ उनी भन्छिन्–‘माटो परिक्षण लगायतको काम गरेर दुईवर्षदेखि तरकारी उत्पादन थाले । पहिलो वर्ष पचास/साठ्ी हजार नाफा भएको थियो ।’
यस वर्ष उत्पादन राम्रै भएपनि पानी नपरेका कारण बोरिङ्गबाट सिंचाई गर्दा खर्च बढेको गौरीका श्रीमान भुवनेश्वरले बताए । तर पनि असार साउनमा उत्पादन बढेर नाफा हुने उनले आशा गरेका छन् । स्थानीय एक ब्यक्तिको नाममा रहेको जग्गा भाडामा लिएर उनीहरुले तरकारी खेती गरिरहेका हुन । नदीले बगर बनाइदिए पनि त्यहाँको धेरै जग्गाको लालपुर्जा रहेको छ । यसरी हातमा लालपुर्जा भएपनि बगर बनेका जग्गालाई उपयोग गरिरहेका गौरी जस्ता महिलालाई कुनै निकायबाट सहयोग भने छैन । गौरी भन्छिन् –‘यस्तो ठाउँमा खेती गरिरहेका हामीलाई कस्ले सम्झिएला !’