कर्जाको ब्याजदर १५ महिनायताकै सस्तो


नेपालगन्ज । कर्जाको ब्याजदर १५ महिनायताकै सस्तो भएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको आर्थिक वर्ष २०८०/८१ को कात्तिकसम्मको तथ्यांकअनुसार कर्जाको औसत ब्याजदर २०७९ साउनको हाराहारीमा झरेको हो ।

२०७९ साउनमा ११.९४ प्रतिशत रहेको कर्जाको ब्याजदर त्यसयता लगातार बढेर माग र फागुनमा १३.०३ प्रतिशतसम्म पुगेको थियो । चैतदेखि घट्न थालेको ब्याजदर २०८० कात्तिकमा ११.९६ प्रतिशतमा झरेको छ ।

कर्जाको ब्याजदर घटेर कोरोना महामारीअघिकै अवस्थामा पुगेको छ । कोरोना महामारी नियन्त्रणमा लिन सरकारले २०७६ चैतदेखि लकडाउन घोषणा गर्‍यो । कर्जाको ब्याजदर २०७६ पुस र माघमा समान ११.९४ प्रतिशत थियो भने फागुनमा ११.८ र चैतमा ११.७७ प्रतिशत थियो ।

त्यसपछि लगातार ओरालो लागेको ब्याजदर २०७८ असारमा ८.४३ प्रतिशतसम्म झरेको राष्ट्र बैंकको तथ्यांकले देखाउँछ । २०७८ साउनदेखि बढ्न थालेको ब्याज २०७९ माघ र फागुनमा सर्वाधिक १३.०३ प्रतिशतसम्म पुगेको थियो । त्यसपछि घट्न थालेको ब्याजदर कात्तिकमा १५ महिनायताकै न्यून ११.९६ प्रतिशतमा झरेको छ

प्रकाशित मितिः     २८ मंसिर २०८०, बिहीबार १७:५३  |