नेपालगन्ज । अदालतक्षेत्र वरपरका रुख कटानको बिषयलाई लिएर नेपालगन्जका नगरप्रमुख (मेयर) प्रशान्त बिष्ट कानूनी उपचारमा गएपछि नेपाल विद्युत प्राधिकरण नेपालगञ्जका कर्मचारीमा त्रास छाएको छ । मंसिर २४ गते जिल्ला र पुनरावेदन अदालत अगाडिका १६ वटा रुखको काँटछाँट ‘बुस कटिङ्ग’ गरेपछि विद्युत बिरुद्ध मेयर बिष्ट क्रुद्ध बनेका छन् । रुख कटान गर्नेलाई कडा कारवाहीको माग गर्दै उनी जिल्ला प्रहरी कार्यालय बाँके सहित जिल्ला प्रशासन कार्यालयसम्म पुगेपछि प्राधिकरणका कर्मचारीमा त्रास छाएको हो ।
सम्भावित विद्युत दुर्घटना रोक्नका लागि प्राधिकरणले हरेक वर्ष तार छोइने र त्यस वरपरका रुख बिरुवालाई काँटछाँट अर्थात ‘बुस कटिङ्ग’ गर्दै आएको छ । त्यही नियमित प्रक्रिया अनुसार, विद्युत दुर्घटनाको जोखिम मानिएको अदालत वरपरका रुखहरुको ‘बुस कटिङ्ग’ गर्दा विवाद उत्पन्न भएको प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख जगननाथ लामिछानेले बताए । उनका अनुसार, अन्य ठाउँमा जस्तै नियमको परिधिभित्रै रहेर नियमित प्रक्रिया अनुसार काम शुरु गरिएको थियो जसले ठूलो बिवादको बिषय बनाइदिएको छ ।
‘त्यो कारणले गर्दा तत्कालका लागि थप बुस कटिङ्गको काम रोकिएको छ । कर्मचारीहरु फिल्डमा जान हिच्चकिचाउनु भयो ।’ प्रमुख लामिछानेले भने,—‘रुखले तार छोइएर हुने सम्भावित दुर्घटना रोक्न हामीले हरेक वर्ष गर्दै आएको नियमित कामलाई लिएर मुद्दा मामिलाको बिषय बन्दा कर्मचारी निरास महसुस गरिरहनु भएको छ ।’ आफुहरुले गर्दै आएको नियमित कामलाई मेयरको तहबाटै मुद्दाको बिषय बनाइदिदा कर्मचारीहरु निरास देखिन्छन् । रुखले तार छोएर हुने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै अदालत स्वंयले प्राधिकरणलाई लिखितरुपमै ध्यानार्कषण समेत गराएको थियो ।
प्रशासन फाँटका प्रमुख भवानी चन्दले काम गर्दा मुद्दा मामिलामा पर्नुपर्ने त्रास कर्मचारीहरुमा उत्पन्न गराएको बताए । ‘क्षेत्राधिकार र नियमको परिधिभित्र रहेर त्यहाँ बुस कटिङ्ग गरिएको थियो । तर ठूलो बिषय बन्यो । अन्य ठाउँमा पनि यस्तै हुन्छ की भन्ने मनोविज्ञान कर्मचारीमा छ ।’ प्राधिकरण नेपालगन्ज वितरण केन्द्रका प्रमुख लामिछानेका अनुसार, हावाहुरी र गर्मीयाम लाग्नु भन्दा पहिल्यै जाडोको समयमा बुस कटिङ्ग गरेर पोलहरु क्लियर गरिन्छ । त्यसैका लागि मंसिर र पुस जस्ता महिनामा काम शुरु हुँदै आएको छ । ‘रुखहरुले तार छोयो भने ठूलो दुर्घटना हुने गरेको छ । त्यो नहोस् भन्नका लागि रुखकटान छटान गर्दै आएका छौं । यसपालि पनि अन्य ठाउँ जस्तै काम गर्दा विवाद आएपछि अहिले काम रोकिएको छ ।’— लामिछानेले भने ।
उनले विवादका बिषयमा प्राधिकरणको केन्द्रीय निकायलाई जानकारी गराइएको छ भने आवश्यक परे कानूनी उपचार केन्द्रीयस्तरबाटै लिने बताए । भने,—‘खासमा हामी बृक्षारोपण बिरोधी कदापी होइन । तर प्राधिकरणले रुख काट्यो भन्दै जसरी विवादलाई ठूलो बनाइयो त्यो कहिल्यै अपेक्षा गरिएको थिएन । जहाँ भोली ठूलो दुर्घटना निम्त्याउने खतरा छ त्यही कारणले रुखहरु काँटछाँट गरेको थियो भन्ने बिषयलाई पुरै नजरअन्दाज गरियो ।’
प्राधिकरणले पोलको वरपरको निश्चित दुरीमा कुनै पनि रुखबिरुवा र भवनहरु निर्माण गर्न नपाइने बिषयमा नेपालगन्जमा नजरअन्दाज गरिएको बताएको छ । सडकको जस्तै विद्युतको पनि राईटअफ वे हुने भएकाले त्यस वरपरमा पछि दुर्घटना निम्त्यिाउने काम गर्न नहुने कुरालाई बिर्सिन नहुने प्रशासन प्रमुख चन्दले बताए ।
प्रमुख लामिछानेले प्राधिकरणले बृक्षारोपण गरिएको रुखहरु मास्यो भन्दै सार्वजनिकरुपमा भइरहेका टिप्पणीका बिषयमा भने,—‘प्राधिकरणले धामपुरमै कयौं रुख लगाएको छ । गत वर्ष देशभर हजारौं बृक्षारोपण गरेको थियो । हामी बृक्षारोपण र हरितअभियानका सहायात्री हौं । जसले बृक्षारोपणको पक्षमा कुरा गरिरहनुभएको छ उहाँहरुले सम्भावित विद्युत दुर्घटनाका बिषयमा केही कुरा महसुस गर्नुपर्छ ।’
उपमहानगरले समन्वय बिना रुख काटेको बताए पनि प्रमुख लामिछानेले आफुहरु स्थानीय तहसंग मिलेरै गइरहेको बताउँदै नियमित काम भएका कारण कतिपय बिषयमा समन्वय हुन नसकेको बताए । उनले भने,—‘एउटा सर्वसाधारण जनतासंग पनि हामीले समन्वय गरेर काम गर्छौ । यहाँ उपमहानगरसंगै समन्वय नगर्ने भन्ने कुरा आउँदैन ।’
व्यबस्थापनका नाममा समन्वय विना नै जथाभावी काटेपछि प्रचलित कानुन बमोजम कडा कारवाहीका लागि नगर प्रमुख विष्टले कानुनी उपचार खोजिने बताउँदै प्रहरीलाई निवेदन दिइसकेका छन् । रुख काटिएको खबर पाउनासाथ नगर प्रमुख विष्ट, उपप्रमुख कमरुद्दिन राई, प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेल, बाँके प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुवासचन्द्र बोहरा, हरित अभियन्ता लगायतले त्यस क्षेत्रको अनुगमन गरेका थिए ।
रुख कटानको बिषयमा हरित अभियान संचालन गर्ने अभियानताबाट समेत बिरोध भएको थियो । तर नेपालगन्जका अधिवक्ता पदम पाण्डे सामाजिक संजालमा लेख्दै उपमहानगरपालिकालाई प्रश्न गर्छन,—‘झर्नुको पनि हद हुन्छ नी † सरकारले मुद्दा हाल्ने त्यो पनि प्राधिकरणको शाखालाई ?’