नेपालगन्ज । बाँकेमा भन्सार छलेर भारतबाट नेपाल भित्र्याउँदै गरेको ३२ लाख रुपैयाँ बराबरको अवैध सामान सशस्त्र प्रहरी बलको टोलीले बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल नं ३० गण बागेश्वरीको टोलीले बिहीबार उक्त सामान बरामद गरेको हो। गणका सूचना अधिकारी एवं सशस्त्र प्रहरी नायब उपरीक्षक महेन्द्र भारतीका अनुसार खजुरा गाउँपालिका-६ सिमलघारीमा जाँच गर्ने क्रममा भे१च २३५७ नंको ट्रकमा भारतबाट अवैधरुपमा नेपाल ल्याउँदै गरेको सामान बरामद गरेको हो।
बरामद गरिएका सामानमा १४ लाख ७० हजार रुपैयाँ बराबरको लत्ताकपडा, एक लाख ४० हजार रुपैयाँको पित्तलका मूर्ति, भाँडावर्तन, सजावटका सामग्री छन्।
सशस्त्र प्रहरीले ट्रक चालकसहित दुईजनालाई पक्राउ गरेको भारतीले जानकारी दिए। पक्राउ पर्नेमा नेपालगंज उपमहानगरपालिका-५ का ५० वर्षीय कमल हलुवाई र चालक ३० वर्षीय भारतीय नागरिक साकिर हुसेन रहेका छन्।
दुवैजनालाई आवश्यक कारबाहीका लागि नेपालगंज भन्सार कार्यालयलाई बुझाइएको छ।