मदनचाेकमा जिपको ठक्करबाट ड्युटीका प्रहरीको मृत्यु, अर्का एकजना गम्भीर घाइते


काेहलपुर । कोहलपुरको मदनचोकमा बोलेरो जिपको ठक्करबाट एक प्रहरीको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् ।

बिहीबार राति भे १ च ३४०७ नम्बरको बोलेरो जिपको ठक्करबाट ड्युटीमा रहेका प्रहरी जवानको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।

रुकुम पश्चिम घर भई मदनचोक प्रहरी बिटमा कार्यरत ३२ वर्षीय प्रहरी जवान विशाल ओलीको मृत्यु भएको हो । बाँसगढी नगरपालिका वडा नम्बर ५ घर भई अस्थाई ट्राफिक पोस्ट चेपाङ्ग बबईमा कार्यरत वर्ष ३२ वर्षीय प्रहरी सहायक हवल्दार लाल बहादुर बुढा क्षेत्री गम्भीर घाइते भएका छन् ।

सडक छेउमा रहेका उनीहरूलाई तिव्र गतिको बोलेरो जिपले ठक्कर दिएर ७०/८० मिटर टाढा पु¥याएको थियो ।

गम्भीर घाइते दुबै जनालाई तत्कालै उद्दार गरेर नजिकै रहेको कोहलपुरस्थित शिक्षण अस्पतालमा पु¥याएपनि ओलीलाई चिकित्सकले मृत घोषणा गरेका थिए । ट्राफिक प्रहरी सहायक हवलदार बुढाक्षेत्रीको अवस्था चिन्ताजनक रहेको छ ।

प्रहरीलाई ठक्कर दिएर भागेको बोलेरो जीपसहित चालकलाई गोर्खा बोर्डिङ स्कुल नजिकैबाट प्रहरीले नियन्त्रणमा लिइसकेको छ । मृतक प्रहरी जवान ओली ड्युटीमा रहेका थिए भने गम्भीर घाइते बुढा क्षेत्री ड्युटी सकेर घर जान लागेका थिए ।

प्रकाशित मितिः     २९ मंसिर २०८०, शुक्रबार ०९:०२  |