प्रभु र सानिमा बैंकले निक्षेपको ब्याज दर स्थिर राखेका छन् भने बाँकीले घटाएका छन्।
नेपाल राष्ट्र बैंकले अघिल्लो शुक्रबार (मंसिर २२ गते) चालु वर्षको मौद्रिक नीतिको त्रैमासिक समीक्षा गर्दै बैंक दर ७.५ प्रतिशतबाट घटाएर ७ प्रतिशतमा ल्याएको थियो।
साथै नीतिगत दरलाई ६.५ प्रतिशतबाट घटाएर ५.५ प्रतिशतमा ल्याएको छ। साथै निक्षेप संकलन बोलकबोल दरलाई ४.५ प्रतिशतबाट घटाएर ३ प्रतिशतमा झारेको छ। यो पहलले बैंकहरुले पुसमा कम्तिमा एक प्रतिशत बिन्दुले निक्षेपको ब्याज दर घटाएका हुन्।
नियामकीय प्रावधानले नछेक्ने हो भने ब्याजदर अझ घट्ने थियो। राष्ट्र बैंकले एक पटकमा बढीमा १० प्रतिशतले ब्याज घटाउन वा बढाउन पाइने व्यवस्था गरेको छ। त्यही कारण उनीहरुले थप घटाउन नसकेका हुन्। तर, तरलता र नीतिगत दरका कारण ब्याज अझै घट्ने थियो।
मंसिरमै अधिकांश बैंकको निक्षेपको ब्याजदर एकल अंकमा आइसकेको थियो। पुसमा प्राइम कमर्सियल बैंकबाहेक सबैको एकल अंकमा आएको छ।
प्राइमले १०.२५ प्रतिशत रहेको मुद्दती निक्षेपको ब्याज १० प्रतिशतमा झारेको छ। ब्याज घटाउने प्रतिस्पर्धामा स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाललाई एभरेष्ट बैंकले उछिनेको छ। मंसिरमा एभरेष्टको ९ प्रतिशत ब्याज हुँदा स्ट्यान्डर्ड चार्टर्डको ८.९७ प्रतिशत थियो।
पुसमा एभरेष्टले ब्याज ८ प्रतिशतमा झारेको छ। चार्टर्डले ८.५६ प्रतिशतमा ब्याज कायम गरेको छ।
सरकारी स्वामित्वका तीन वटै वाणिज्य बैंकले ब्याजदर घटाएका छन्। लक्ष्मी सनराइज बैंक १० प्रतिशतको ब्याजबाट ९ प्रतिशतमा ओर्लिएको छ।
निक्षेपको ब्याज घटेकाले अब ऋणको ब्याज पनि घट्ने छ। बैंकहरुले मुद्दतीसँगै बचत र कल एकाउन्टको पनि ब्याज घटाएका छन्।
बैंक | पुस | मंसिर |
प्राइम कमर्सियल | १० | १०.२५ |
माछापुच्छ्रे | ९ | १०.६ |
नेपाल एसबिआइ | ९.६ | १०.६ |
कुमारी | ९.३१ | १०.०१ |
कृषि विकास बैंक | ९.०१२ | ९.५१ |
प्रभु | ९ | ९ |
सानिमा | ९ | ९ |
एनएमबि | ९ | ९.७६ |
लक्ष्मी सनराइज | ९ | १० |
एनआइसी एसिया | ८.६७ | ८.९६ |
राष्ट्रिय वाणिज्य बैंक | ८.६१ | ९ |
नबिल बैंक | ८.६ | ९.१ |
ग्लोबल आइएमइ | ८.६ | ९.६ |
स्ट्यान्डर्ड चार्टर्ड | ८.५६ | ८.९७ |
नेपाल बैंक | ८.५५ | ९.२२ |
एभरेष्ट | ८ | ९ |
नेपाल इन्भेष्टमेन्ट | ९.५ | ९.५१ |
सिटिजन्स | ९.३५ | ९.९५ |
सिद्धार्थ | ९.९९ | |
हिमालयन | ८.६ | १०.६ |
बैंकले मुद्दतीको ब्याज घटाउँदा लागत कम गर्न त्यसको असर तत्काल नपरे पनि बचत, चल्ती खाताको तत्कालै पर्छ। अहिले बैंक तथा वित्तीय संस्थामा कुल निक्षेपको ५५.८ प्रतिशत मुद्दतीको हिस्सा छ। त्यसैले आधाभन्दा बढी असर अहिले नै देखिँदैन। नयाँ मुद्दती र नवीकरण आउँदै गर्दा मुद्दतीको लागत कम पर्छ।
तर, चल्ती र बचतको असर पुस १ गतेबाटै पर्छ। बचतमा २७.६ प्रतिशत हिस्सा छ भने चल्तीमा ८.९ प्रतिशत हिस्सा छ। यसले समग्र लागत कम हुँदा ऋणको ब्याज पनि घटेर जान्छ।
राष्ट्र बैंकको कात्तिकसम्मको तथ्यांकअनुसार वाणिज्य बैंकहरुको ऋणको औसत ब्याज दर ११.९६ प्रतिशत छ। पोहोर कात्तिकमा १२.६५ प्रतिशत ब्याज पुगेको थियो। अहिले विकास बैंकहरुको १३.७ र फाइनान्स कम्पनीको १४.४८ प्रतिशत छ।
पुस १ गतेबाट लागू हुनेगरी विकास बैंक र फाइनान्स कम्पनीहरुले पनि निक्षेपको ब्याज घटाएका छन्।