बर्दिया निकुञ्जसित जोडिएको सुर्खेतको बराहाताल गाउँपालिका–३, राजकाँडाका रणबहादुर बुढा २०६७ सालअघि शिकारी थिए । उनी जस्तै गाइनेकाडा “,लेकगाउँ“, तेलपानीमा पनि शिकारीको बिगविगी थियो ।
बर्दिया राष्ट्रिय निकुञ्जका वन्यजन्तु मारी बेचेर जीविको पार्जन गर्दै आएका उनीहरुले चिसापानी, भुरिगाउँ र सुर्खेत जाने- आउने शिकारी ट्रेल प्रयोग गर्दथे । तर २०६७ पुस १ गते निकुञ्ज प्रभावित सुर्खेतका बस्ती समेटेर मध्यवर्ती क्षेत्र घोषणा गरियो । त्यसपछि यहाँका युवालाई समूहमार्फत एकजुट गराएर संरक्षण शिक्षा प्रदान गर्न थालियो । उत्तरी क्षेत्रमा मध्यवर्ती सामुदायिक वन गठन गरियो र त्यसपछि यहाँका शिकारी शिकार छाडेर संरक्षणमा जुटे ।
आय आर्जनको मुख्य श्रोत रहेको वन्यजन्तु शिकार बन्द भएपछि रणबहादुर जस्ता ६८ जनाले बन्दुक बुझाएर संरक्षणमा सघाए । संरक्षणबाट गाउँ बिकास हुने र आयआर्जनका कार्यक्रम सञ्चालन हुने आश्वासन पाएपछि लेकगाउँ, र्सिङकाडा, हर्रेकाडा,केलाडी लगायतकाले बस्ती पर्यटन प्रवर्धन र वन्जयन्तु संरक्षणलाई एकैसाथ लैजाने अभियान चलाए । जसको पहिलो लक्ष्य ६ दिने पदमार्ग निर्माण, होमस्टे स्थापना, पर्यटकीय गन्तव्य पहिचान र प्रर्बद्धन थियो । २०७० सालदेखि राष्ट्रिय प्रकृति संरक्षण कोष तथा बर्दिया राष्ट्रिय निकुञ्जको सहयोगमा विगतमा प्रयोग हुने शिकारी ट्रेललाई पर्यटकीय पदमार्ग बनाइएको छ । कुनै बेला वन्यजन्तु शिकार गर्न र त्यसको मासु ओसार्न–बेच्न प्रयोग गरिने शिकारी ट्रेलमा अहिले संरक्षणकर्मी, वन्यजन्तुप्रेमी र पर्यटक हिंड्छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका प्रमुख अजित तुम्बाहाङ्फेका अनुसार बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती र चुरे क्षेत्रमा २ वटा पदमार्ग र एउटा हाइकिङ्ग निर्माण गरिएको छ । चिसापानी–राजकाडा–सुगरमाला–लेकगाउँ–तेलपानी–गाडाँपानी–काफलगौरादेखि हर्रे सम्म ६१ किमीको पदमार्ग बनाइएको छ । “यो ६१ किमी लामो छ र ७ दिनको समय लाग्छ” प्रमुख अजित तुम्बाहाङ्फेले भने ।
बाघ,गैडा, मृगहरु शिकार गरेर यही बाटो शिकारीहरुले सुर्खेतसम्म छाला, खाँग र सुकुटी लैजान प्रयोग गर्ने उक्त ट्रेललाई पर्यटकीय पदमार्ग बनाएर स्थानीयले आय आर्जन गर्दै आएका छन् । यसै गरी चिसापानी–राजकाडा–लेकगाउँ–तेलपानी–ढाँडवास सम्मको ३४ किमी सानो ट्रेकिङ्ग रुट पनि निर्माण भएको छ । बर्दिया निकुञ्ज घुमेर १ रात बास बस्ने हाइकिङ्ग समेत निर्माण गरिएको कोषका कार्यक्रम सहायक मनोज गौतम बताउँछन् । “हामी बिहान निकुञ्ज घुमेर दिउँसो हाइकिङ्ग गर्दै ढाँडबास–हर्रेकाडा–तेलपानी बस्ने र अर्को दिन विहान तेलपानीबाट ढाँडबास झर्ने हाइकिङ्ग पनि निर्माण गरेका छौं” उनले भने ।
संरक्षणमा लागेका शिकारीहरुलाई आयआर्जनका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषले संयुक्त रुपमा विभिन्न कार्यक्रम समेत गरेको छ । कोषका कर्मचारी रामजी थापाका अनुसार चुरे रेन्जमा मात्रै ३४ वटा होमस्टे निर्माण गरिएको छ, १४ वटा सहकारी स्थापना र व्यवसायिक अदुवा, बेसार खेतीमा समेत लगानी गरिएको छ । “ट्रेकिङ्ग र हाइकिङ्गमा आउने पर्यटकहरुलाई त्यहीँकै होमस्टेहरुमा राखिन्छ” उनले भने ।
१ हजारदेखि १३ सय मीटर अग्ला ती बस्तीहरुबाट गुराँस हिमाल रेन्ज, अपि हिमाल सजिलै देख्न सकिन्छ भने उत्तर तल सुर्खेत बजार र दक्षिणमा बर्दिया, कैलाली र चिसापानी पुल क्षेत्रका साथै कर्णाली नदीका भंगालोहरुको अवलोकन गर्न सकिन्छ । स्थानीय रैथाने परिकार काचो मकैको खीर,कोदो, सिस्नु,कन्दमूलहरु, रैथाने उखु, पहाडे मह, स्थानीय उत्पादित कफी र सिस्नुको रक्सीको स्वाद चाख्न पाइन्छ । पदमार्गका क्रममा पाटे बाघ,काठे भालु,बदेल चितुवा, मृग प्रजाति तथा विभिन्न प्रजातिका चराहरु देख्न पाइन्छ ।
सुर्खेत बराहताल तेलपानीका डम्बरबहादुर बडुवाल शिकारी ट्रेल निकै रोमाञ्चक, जोखिमपूर्ण र प्राकृतिक रहेको बताउँछन् । “जंगली जनावर, अग्ला चुरे पहाडका भीरको डर त छ तर त्यहाँबाट देखिने प्राकृतिक छटाको रोमाञ्च, रमणणीय स्थल र स्थानीयबासीहरुको हार्दिकता र रैथाने संस्कृति, बसोबासले पर्यटकको मन जित्छ” उनले भने । अहिले बाघ लगायत बन्यजन्तु, चरा प्रेमी र जंगल सफारीको मुख्य गन्तव्य बन्दै गएको बर्दिया राष्ट्रिय निकुञ्ज संगै शिकारी ट्रेकिङ्ग र मध्यवर्ती क्षेत्रका चुरेको टुप्पोमा रहेका पहाडे बस्ती अर्को पर्यटकीय गन्तव्य बन्दै गएको छ ।