नेपालगन्ज । जनस्वास्थ्यमा गम्भीर खेलवाड हुने गरी बजारमा मिठाई र पानी बिक्री भइरहेको पाइएको छ । मंसिर २१ गते बजार अनुगमन टोलीले नेपालगन्ज —११ मा रहेको रारा पानी उद्योगका पुराना २२ जार नष्ट गर्दै अनुज्ञा पत्र नलिदासम्म पानी उत्पादनमा रोक लगायो । सोही दिन वाईके पानी उद्योग सुरक्षित तवरले पानी उत्पादन सुनिश्चित नहुँदासम्मका लागि उद्योग शिल गरियो ।
मंगलवार नेपालगन्जमा अनुगमन गर्दा राम र श्याम गरी दुईवटा मिष्ठान भण्डार असाध्यै फोहोर भेटिएपछि सरसफाई नहुँदासम्मको लागि मिठाई कारखानाको उत्पादन रोक्का लगाइएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेको अगुवाई भइरहेको बजार अनुगमनका क्रममा यसरी कैफियत भएका उद्योग,प्रतिष्ठानलाई जरिवाना मात्रै भएको छैन उद्योग नै बन्द गर्नुपर्नेसम्मको अवस्था आएको बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले बताए ।
‘जनस्वास्थ्यमा खेलवाड गर्ने छुट कसैले नपाएको बताउँदै पोखरेलले भने,—‘त्यस्तो गर्नेलाई कानून बमोजिम दण्ड जरिवना दिइन्छ,उन्मुक्ति पाउँदैन ।’ जनस्वास्थ्यको सुनिश्चिता र कानून बमोजिम प्रक्रिया पुरा गरे फेरी उद्योग,प्रतिष्ठान संचालन गर्न कसैले नरोक्ने उनले बताए । उपभोक्ता हित संरक्षण मन्चका लुम्बिनी प्रदेश उपाध्यक्ष प्रभातसिंह ठकुरी उत्पादनै बन्द गर्नेपर्ने परिस्थितीका लागि व्यवसायी स्वंय जिम्मेवार रहेको बताउँछन् । उनी भन्छन्,—‘देख्ने बित्तिकै फोहोर देखिने खानेकुरा बेच्नेलाई यो हदसम्मको कारवाही जायज छ ।’
बजार अनुगमनको नेतृत्व गरिरहेका बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी लालबहादुर गुरुङ्गका अनुसार, राम र श्याम फरक मिष्ठान भण्डारलाई सरसफाई सुनिश्चित नहुँदा सम्मको लागि उत्पादन रोक्का गरिएको छ । ‘असाध्य फोहोर भेटेपछि उत्पादनमा निरन्तरता दिएर जनस्वास्थ्यमा गम्भीर असर पार्न नदिने कुरै हुँदैन थियो ।’— सहायक प्रमुख जिल्ला अधिकारी गुरुङ्गले भने । यि मिष्ठान भण्डारबाट बिल ÷बिजक जारी नगरेको समेत पाइएको छ भने बिक्री वितरण राखेको मिठाईको नमुना परिक्षणका लागि संकलन भएको छ । मिठाई पसलमा बिगतमा पनि गुणस्तरमा असाध्यै कमजोरी गरेको पाइएको थियो भने सर्बसाधारण समेत मिठाई किन्न हिच्चकिचाउने गरेका छन् ।
मधुवन स्वीट, लिटिल हन्गर एण्ड स्वीट बेकरीमा उत्पादन भएका मिठाईको नमुना पनि संकलन गरिएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार, बाँकेका बिभिन्न सार्वजनिक तथा नीजि संस्थामा पिउनका लागि प्रयोग हुने पानीको शुद्धता परिक्षण गर्न शुरु गरिएको छ । परिक्षणको नतिजा केही दिनमै आएपछि ती ठाउँमा प्रयोग हुने पानीको गुणस्तरका बारेमा यथार्थ थाहा हुने पोखरेलले बताए ।
आक्रमक बजार अनुगमनप्रति उद्योगी,व्यवसायी भने असन्तुष्टिका स्वरहरु सुनिएका छन् । आर्थिक शिथिलताका बिरुद्धमा सरकारलाई बुझाएको १४ बुँदे ज्ञापनपत्रको अन्तिम बुँदामा त्यो कुरा झल्किन्छ । संघले बुझाएको ज्ञापनपत्रको अन्तिम बुँदामा ‘उद्योगी, व्यवसायीहरुलाई अनावश्यक रुपमा दुःख दिने अभिप्रायले गरिने अनुगमन तथा वस्तु विक्री वितरण प्रतिबन्ध जस्ता कार्यमा रोक लगाउन सरकारका सरोकारवाला निकायहरुलाई निर्देशन दिई सहज व्यवसायिक वातावरण श्रृजना गराउन माग गर्दछौँ ।’ —भनिएको छ ।