नेपालगन्ज । बर्षायाममा दुःख गरेर रोपेको धानको उब्जनि घर—घर भित्र्याइसकेका छन् बाँकेका कृषकले आवश्यक वर्षा भएको र बाढीको प्रकोप समेत झेल्न नपरेका कारण धानको उब्जनि राम्रो भएकाले कृषकको मुहारमा मुस्कान देख्न पाइन्छ । तर बाँके यस्तो ठाउँ हो जहाँ धानको उत्पादन संधै एकनासको हुँदैन र कृषकको मुहारमा सदावहार मुस्कान देख्न पाइदैन ।
मिसन टुडेले बाँकेमा धान उत्पादनको पछिल्लो पाँच वर्षे ग्राफ केलाएको छ जहाँ किसानहरुले थुप्रै उताडचडाव झेलेको देखिन्छ । कहिले हवात्तै उत्पादन बढेको देखिन्छ त कहिले त्यही मात्रामा घट्ने गरेको छ । पछिल्लो पाँच बर्षमा आर्थिक वर्ष २०७८÷७९ मा धान उत्पादक कृषकलाई ठूलै झड्का लाग्यो । उक्त वर्ष ३३ हजार ८ सय ९५ हेक्टरमा जम्मा ७८ हजार ३ सय १३ मेट्रिक टन धान उत्पादन भयो ।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना अधिकारी एवं कृषि बिज्ञ जीवनकुमार केसी भन्छन्,—‘पछिल्लो पाँच बर्षमा २०७८ मा सबैभन्दा कम धान फल्यो । खास उक्त बर्ष बाढीका कारण धान उत्पादनमा निकै ठूलो चोट पुगेको थियो ।’ केसीका अनुसार, बाँके सुख्खा जिल्ला हो र यहाँको धान उत्पादन आँकाशे पानीले निर्धारण गर्छ । उनी भन्छन्,—‘धान उत्पादनको सकारात्मक प्रयास भएका छन् । यद्यपी कहिले बर्षा नै नहुने त कहिले धेरै भएर नोक्सानी हुँदा उत्पादनमा समस्या हुने गरेको छ ।’
कृषि ज्ञान केन्द्र बाँकेका अनुसार, आर्थिक वर्ष २०७६÷७७ मा एक लाख २४ हजार १००, आर्थिक वर्ष २०७७÷७८ मा एक लाख ५६ हजार ९ सय ५०, आर्थिक वर्ष २०७८÷७९ मा ७८ हजार २ सय ६७, आर्थिक वर्ष २०७९÷८० मा एक लाख २६ हजार ७ सय २७ र चालु आवमा एक लाख ४५ हजार ६ सय ३५ मेट्रिक टन धान उत्पादनको अनुमान गरिएको छ । यसवर्ष धान उत्पादनमा उत्साहजनक बृद्धि हुने अनुमान गरिएको हो । आवश्यक वर्ष भएको, बाढीप्रकोपको समस्या नभएको मात्रै नभई सिक्टा सिंचाई आयोजनाको पानी खेतसम्म पुगेका कारण धान उत्पादन बृद्धि हुने अनुमान गरिएको हो ।
‘यो वर्ष आवश्यक बर्षा भइरह्यो । बाढीले धान रोप्दा होस् चाहे काट्दा बाढी आएर नोक्सान गरेन ।’कृषि अर्थबिज्ञ समेत रहेका केसी भन्छन्,—‘सिक्टा सिंचाई आयोजनाले पनि नहरमा पानी छाडेका कारण सिंचाईको व्यवस्था भयो । यि कारणले धान उत्पादन बृद्धि भएको हो ।’ केसीका अनुसार, अधिकांस कृषकले खेतबाट धान काटेर घर भित्रा्इसकेका छन् तर अझै केही ठाउँमा काट्न बाँकी छ । केसी भन्छन्,—‘काला नमक जस्ता धानहरु भित्रा्उन बाँकी रहेको छ ।’ बाँकेमा प्रति हेक्टर उत्पादकत्व समेत गत वर्ष भन्दा बढेको छ । गत वर्ष प्रति हेक्टर धानको उत्पादकत्व ३.८ रहेकोमा यस वर्ष बृद्धि भई ४.२ हुने अनुमान रहेको छ ।
बाँके र बर्दिया जस्ता जिल्लालाई धानको भण्डार समेत भनिन्छ । पर्याप्त मात्रामा धान उत्पादन हुने भएका कारण धानको भण्डार भनिएको हो । आँकाशे पानीको भरमा खेती किसानी गर्दै आएका कृषकलाई बेलाबखत आउने बाढीले धानवालीमा नोक्सानी पुर्याउँछ । यसपटक भने बाढी पनि नआएको र सिक्टा सिंचाई, आकाँशे पानी पनि परेका कारण धान उत्पादनमा बृद्धि हुने अनुमान गरिएको हो ।
‘सिंचाईको पहुँच बढेको, उन्नतजातको बिउँ र प्रविधिको प्रयोगले उत्पादन बृद्धि भइरहेको छ ।’ सूचना अधिकारी केसी भन्छन्,—‘तर फेरी पनि अतिर अनाबृष्टि हाम्रो लागि चुनौती हो । यो हुने बित्तिकै धान उत्पादनमा समस्या आइहाल्छ ।’