नेपालगन्जसंग पाेखराका पर्यटन व्यवसायीकाे अपेक्षा


आन्तरिक पर्यटन नै दिगो पर्यटनको आधार हो भन्ने मान्यता अनुरुप होटल संघ पोखरा नेपालले दुई दशक अधि सुरु गरेको जाउँ है पोखरा अभियानलाई यस वर्ष पनि निरन्तरता दिएका छौ । आन्तरिक पर्यटनको विकासको लागि व्यावसायिक सहकार्य र पर्यटन प्रबर्द्धनको मुख्य उद्देश्य यस कार्यक्रमले लिएको छ ।

देशमा १० वर्षे द्वन्द्र चल्दै गर्दा सुरु गरिएको यस अभियानको प्रभाव सकारात्मक पर्दै गएको हामीले पाएका छौं । अभियानकै कारण देशैभरि नेपालीमा घुम्ने बानीको विकास भएको र अहिले पोखरा पुग्ने पर्यटक मध्ये ३५ प्रतिशत हिस्सा नेपालीको रहने गरेको छ । यही यथार्थलाई ख्याल गर्दै अभियानलाई निरन्तरता दिएका हौं। गत कात्तिक महिनामा पूर्वी नेपालका विभिन्न शहरमा पनि हामीले यो अभियान संचालन गरेका थियौं।

नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय तथा होटल संघ पोखरा नेपालको संयुक्त आयोजनामा यही मंसिर २९ गते देखि पुस ०४ गतेसम्म पश्चिम नेपालमा संचालन हुने अभियान अन्तर्गत यसपटक भैरहवा, नेपालगंज, धनगढी र महेन्द्रनगर जस्ता शहर समेटिएको छ ।

यसअघि २०७७, २०७४ र २०६८ सालमा समेत हामीले पश्चिम नेपालमा यस्तो अभियान संचालन गरेका थियौं। यस क्षेत्रका पर्यटकलाई पोखरा पठाउने र पोखराबाट समेत पर्यटकलाई पश्चिम पठाउने हाम्रो अभियानमा पर्यटन व्यवसायी लगायत सम्बद्ध सबैको साथ र सहयोग रहने अपेक्षा हाम्रो छ । पर्यटनका लागि पहुँच (कनेक्टिभिटि) महत्वपूर्ण हुने कुरालाई ख्याल गर्दै पश्चिम नेपालका विभिन्न शहरबाट पोखरासम्म सिधा हवाई उडान तथा स्तरीय बस सेवा संचालनका लागि सबैको पहल र सक्रियताका लागि समेत अपिल गर्न चाहन्छौं । यस क्षेत्रको पर्यटन प्रवर्द्धन गर्न पोखरा आउनुहुन समेत हार्दिक अनुरोध गर्न चाहन्छौं ।

विशेष गरी कोभिड १९ बाट थला परेको पर्यटनलाई पुनरुत्थान गरी लयमा फर्काउने उद्देश्य पनि यस अभियानले लिएको छ । पोखरामा पर्यटकको क्षमता अनुसार सबै गुणस्तर र मूल्यका पर्यटकीय सेवा सुविधा उपलब्ध छन् । विगतमा सस्तो पर्यटकीय गन्तव्यको सूचीमा विभिन्न अन्तर्राष्ट्रिय संचार माध्यमले समेत पोखरालाई उल्लेख गरेका थिए। पोखराको होटल क्षेत्रमा पाँच खर्ब रुपैयाँ हाराहारीको लगानी रहेको, यस क्षेत्रका एक हजार दुई सय होटलमा ४० हजार बेड रहेको र यो क्षेत्रमा १५ हजार जनाले रोजगारी पाएको हाम्रो आंकलन छ ।

यस अभियानमा अहिले हामी नेपाल पर्यटन बोर्ड, होटल संघ पोखरा नेपाल, पोखरा पर्यटन परिषद्, नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) र ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) गण्डकीका तर्फबाट प्रतिनिधित्व गर्दै संचारकर्मीसहित गण्डकी प्रदेश घुमघामका पर्यटकीय प्याकेज लिएर उपस्थित भएका छौं ।

आन्तरिक पर्यटन प्रबर्द्धनकै लागि संघले फेवा नब वर्ष महोत्सव, भाइटिका महोत्सव, खाना महोत्सव र खेलकूदका कार्यक्रम समेत गर्दै आएको छ। साथै बाह्य पर्यटन प्रबर्द्धनका लागि भारतीय शहरहरुमा चलिए पोखरा अभियान संचालन गर्ने गरिएको छ। यसैगरी अन्तर्राष्ट्रिय बजारमा हुने विभिन्न ट्राभल मार्टहरुमा समेत संघले सहभागिता जनाउँदै आएको छ । पोखरामा बञ्जी जम्पिङ, जीप लाइनिङ, विभिन्न मठमन्दिरहरुमा सन्ध्याकालिन आरती, केबलकार, प्याराग्लाइडिङ, अल्ट्रालाइट, क्यानोनिङ लगायत दर्जनौं पर्यटकीय सेवा उपलब्ध रहेको अवगत गराउँदै पोखरा नेचर, कल्चर र एड्भेञ्चर सबै मौसम र सबै हिसावले उपयुक्त पर्यटकीय गन्तव्य भएको स्मरण गराउँदै तपाइँहरु सबैलाई पोखरा भ्रमणको लागि निमन्त्रणा गर्न चाहन्छौं । धन्यवाद ।

(आइतबार नेपालगन्ज आयोजित पत्रकार भेटघाटमा वितरण गरिएको प्रेेस बिज्ञप्ति)

 

 

प्रकाशित मितिः     १ पुष २०८०, आईतवार १३:०९  |