पुस ७ देखि नारायणगढ–मुग्लिन सडक दैनिक चार घण्टा बन्द हुने


चितवन। नारायणगढ–मुग्लिन सडकखण्डमा दैनिक चार घण्टा सवारी बन्द हुने भएको छ । सो सडकखण्डको तुइनखोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएकाले यही पुस ७ देखि सवारी बन्द गर्न लागिएको हो ।

बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिए । उनका अनुसार पहिलो चरणमा तीन हप्ताका लागि सडक रोकेर भित्तो काटिने छ ।

गत वर्ष सो ठाउँमा पुल निर्माणका लागि भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । विस्फोटको अन्तिम तयारी हुँदै गर्दा पुनः एकपटक सडक रोकेर काट्ने तयारी गरिएको हो । शनिबार कुरिनटारमा चितवन, गोरखा र धादिङका प्रमुख जिल्ला अधिकारीसहितको उपस्थितिमा बसेको अन्तर जिल्ला बैठकले सडक रोकेर काम गर्ने निर्णय गरेको हो ।

प्रकाशित मितिः     १ पुष २०८०, आईतवार १४:१९  |