अण्डरवर्ल्ड डन दाऊद पाकिस्तानमा अस्पताल भर्नाले तात्तियो भारतीय मिडिया


नेपालगन्ज । भारतीय मिडियाका अनुसार, ‘मुम्बई आक्रमणका अभियुक्त एवं अण्डरवर्ल्ड डन दाऊद इब्राहिम यति बेला अस्पताल भर्ना भएका छन् ।

लाइभ हिन्दुस्तानका अनुसार, उनलाई पाकिस्तानमा विष दिइएको आशंका छ । दाउदको उपचार अहिले पाकिस्तानको ठूलामध्येको शहर कराचीस्थित अस्पतालमा भइरहेको छ । यद्यपि, यसबारे आधिकारिक पुष्टि भने भएको छैन । उनको अवस्था कस्तो छ भन्नेबारे पनि कुनै औपचारिक जानकारी बाहिरिएको छैन ।

दाउदलाई अस्पतालमा कडा सुरक्षाबीच राखिएको भारतीय मिडियाले सूत्रको जानकारी भन्दै लेखेका छन् ।

एक मिडिया रिपोर्टअनुसार, नेसनेल इन्भेस्टिगेसन एजेन्सी अर्थात एनआईएलाई हसिना पारकरका छोरा दाउद कराचीमा रहेको जानकारी दिइएको थियो ।

डी कम्पनीका दाउद इब्राहिम भारतका भगौडा हुन् । उनी सन् १९९३ मा मुम्बईमा भएको बम विस्फोटका आरोपी हुन् । मुम्बईमा भएको श्रृङ्खलाबद्ध आक्रमणमा २ सय ५० भन्दा धेरै मानिसको मृत्यु भएको थियो । उक्ट घटनामा हजारौँ मानिस घाइते भएका थिए । घटनापछि भारतमा उनलाई आतंकवादी घोषित गरिएको थियो ।

भारतीय मिडियाका दाबीअनुसार, त्यसयता दाउदलाई पाकिस्तानले शरण दिएर राखेको छ ।

विष दिइएको भनिएको घटनाको उद्देश्यबारे विभिन्न अड्कलबाजी भइरहेको छ । यसमा सत्ता संघर्षदेखि भारतविरोधी गतिविधिमा संलग्न व्यक्तिविरुद्ध कारबाही गर्न पाकिस्तानमाथि बाहिरी दबाबसम्म रहेको अनुमान गरिएको छ । यसअघि पाकिस्तानमा लश्कर–ए–तैयबा कमाण्डर अदनान अहमद उर्फ अबू हन्जलासहित भारतले आतंकवादी मान्ने केही व्यक्ति मारिएका थिए ।

प्रकाशित मितिः     २ पुष २०८०, सोमबार ११:३६  |