भुकम्प पिडितले पाए दुई लाख,प्रदेश सरकारले गरिदिएको थियो बीमा


पश्‍चिम। गत कात्तिक १७ गते राति जाजरकोट रामीडाँडा केन्द्रविन्दू भएर गएको भूकम्पका कारण रुकुम पश्‍चिममा मृत्यु भएका व्यक्तिका परिवारलाई राष्ट्रिय बीमा कम्पनीले बीमा बापतको रकम उपलब्ध गराएको छ।

कर्णाली प्रदेश सरकारले प्रदेश भित्रका नागरिकको प्राकृतिक विपद्‍बाट मृत्यु भएमा प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले राहत रकम उपलब्ध राउन राष्ट्रिय बीमा कम्पनीसँग २०७६ साल चैत्र १ गतेदेखि लागू हुने गरी प्राकृतिक विपत् दुर्घटना बीमा कार्यक्रम सुरु गरेको थियो। सोहीअनुसार बीमा कम्पनीले भूकम्प पीडित क्षेत्रमा पुगेर मृतक परिवारका सदस्य तथा हकवालालाई नगद राहत हस्तान्तरण गरेको हो।

उक्त कम्पनी, बीमा प्राधिकरण तथा कर्णाली प्रदेश आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीलगायतको सहभागितामा आठबीसकोट नगरपालिकाका ३४ मृतकका हकवालालाई प्रतिव्यक्ति २ लाख रुपैयाँका दरले ६८ लाख रुपैयाँ प्रदान गरिएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले जानकारी दिए।

बाँकी ८ मृतकका परिवारलाई भने कागजात नपुगेकाले केही समय लाग्ने बताइएको छ। यस्तै, सानीभेरी गाउँपालिकामा मृत्यु भएका १२ मृतकका परिवारलाई पनि बीमा कम्पनीले २ लाख रुपैयाँका दरले राहत उपलब्ध गराएको गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टले जानकारी दिए।

उनका अनुसार मृतकका परिवारलाई वडामै पुगेर २ लाख रुपैयाँका दरले २४ लाख रुपैयाँ उपलब्ध गराइएको थियो। चौरजहारी नरपालिकामा पनि भूकम्पका कारण एक जनाको मृत्यु भएको र निजका परिवारले पनि बीमाबापतको रकम पाउन बाँकी रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत शेरप्रसाद ढकालले जानकारी दिए।

जिल्लामा ४६ मृतकका परिवारले २ लाख रुपैयाँका दरले ९२ लाख रुपैयाँ पाएका छन् भने अझ ९ जनाले रकम पाउन बाँकी छ। गत कात्तिक १७ गते राति भूकम्प जाँदा रुकुम पश्‍चिमका ५३, सानीभेरी गाउँपालिकाका २ जनाको मृत्यु भएको थियो।

प्रकाशित मितिः     २ पुष २०८०, सोमबार १७:३२  |