बाँकेमा सोलारबाट विद्युत उत्पादन सफल


नेपालगन्ज ३ पुष । बाँकेमा पहिलो पटक सोलारबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ । खजुरा गाउँपालिकाको घिया र रनियापुरमा गत वर्षदेखि सोलारबाट २० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको हो ।

सोलारबाट उत्पादन भएको विद्युत राष्ट्रिय प्रशारण लाइनमा जोडिएसंगै थप सम्भावनाका ढोकाहरु खुलेका छन् । औद्योगिक घराना गोल्यान समूहकोे प्योर इनर्जी लिमिटेडले खजुरामा सोलाबाट विद्युत उत्पादन गरिरहेको हो । उक्त परियोजनाका परियोजनाका प्रबन्धक चन्द्रभान यादवले २० मेगावाट विद्युत् उत्पादनका ब्लक १ र ब्लक २ गरी दुई आयोजना निर्माण सुरु गरिएकोमा ब्लक २ गत चैतमै सम्पन्न भई १० मेगावाट विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिएको जानकारी दिए । ब्लक १ को १० मेगावाट अहिले उत्पादन गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

रनियापुरमा निर्माण सम्पन्न भएको परियोजनाको र उत्पादन कार्य पहिलो पटक नेपाली कम्पनी नेक्सस इन्जिनियरिङ कन्सल्टेन्सी एन्ड कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले गरेको जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणका केन्द्रीय प्रतिनिधिहरू सुव्रत अर्याल र सीताराम सिग्देलको उपस्थितिमा हाल उत्पादन भएको १० मेगावाट विद्युत् राष्ट्रिय प्रसारण लाइनमा जोडिएको प्रबन्धक यादवले जानकारी दिए ।

गोल्यान समूहका प्रमुख कार्यकारी अधिकृत प्रवीण अर्यालले लुम्बिनी प्रदेशका तीन जिल्लामा सोलारबाट ६० मेगावाट विद्युत् उत्पादन गर्न छ वटा सोलार विद्युत् आयोजनाको निर्माण सुरु गरिएकामा बाँकेका दुई आयोजना सम्पन्न भई २० मेगावाट उत्पादन भएको बताए ।

दाङ जिल्लाको सतबरियामा निर्माणाधीन दुई आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गर्ने तथा कपिलवस्तु जिल्लाको चन्द्रौटाबाट पनि दुई वटा आयोजनाबाट २० मेगावाट विद्युत् उत्पादन गर्ने गरी काम गरिरहेको जानकारी दिए ।

प्रकाशित मितिः     ३ पुष २०८०, मंगलवार ०८:१४  |