प्राध्यापक दम्पत्तीले स्थापित गरेको ब्रान्ड


नेपालगन्ज – नेपालगन्जको प्रध्यापनक्षेत्रमा अशोक बस्नेत र सावित्रा बस्नेतको नाम परिचित छ । प्राध्यापनसंगै उनीहरुले शुरु गरेको उद्यमयात्रा पनि धेरैका लागि उदाहरण बन्ने गरेको छ । बस्नेत दम्पत्तीले शुरु गरेको अंकुर ट्याप्स एण्ड भल्भ उद्योग नेपालको खानेपानी परियोजनाका लागि निकै उपयोगी सावित भएको छ । २०६७ सालमा नेपालगन्जसंग जोडिएको जानकी गाउँपालिका ६ गनापुरमा उक्त उद्योग स्थापना भएको थियो ।
स्थापनाकालमा दैनिक २५ किलो पित्तल कच्चा पदार्थबाट धाराका टुटी र बाथरुमका लागि आवश्यक सामाग्री उत्पादन गरेको उद्योगले अहिले मासिक १५ हजार किलो कच्चा पदार्थबाट बिभिन्न सामाग्री उत्पादन गर्दै आएको छ ।

एक दशकको उद्योग सन्चालनको यात्रामा अंकुरले बजारमा आफुलाई स्थापित गरेको छ । स्थानीय बजार मात्र होइन आज देशभरको खानेपानी परियोजना देखि कार्यालय, घरका बाथरुमसम्म अंकुरका उत्पादन रोज्ने सेवाग्राही देख्दा बस्नेत दम्पत्ती खुसी छन् ।

बस्नेत दम्पत्तीले खोलेको अंकुर ट्याप्स एण्ड भल्भ उद्योगले खानेपानी परियोजनामा प्रयोग हुने टुटी, भल्भ, फेरुल, रेलुुलेटर टि जस्ता सामाग्री उत्पादन गर्दै आएको छ । यि सबै सामाग्री शुद्ध पित्तलबाट बन्ने गरेको छ । कच्चा पदार्थ भने बिदेशबाट आयाता गरिन्छ । धारामा प्रयोग हुने बाहेक अत्यन्त चहकिलो सिपि बिधिबाट उत्पादन गरेको बाथरुमका आर्कषक सामाग्री सेवाग्राहीले उत्तिकै रुचाएका छन् । गुणस्तरमा कुनै पनि सम्झौता नगरेकाले अंकुरका उत्पादनले राम्रो छाप छोडेको बताउँछन् अशोक बस्नेत । उनकै शब्दमा अंकुर यतिबेला बजारमा जमेको ब्राण्ड बन्न सफल भएको छ ।

नेपाल गुणस्तर चिन्ह प्राप्त गरिसकेका कारण अंकुरको उत्पादन प्रयोगमा उपभोक्ताहरु ढुक्क छन् ।
सरल भाषामा बुझ्दा अंकुरले खानेपानी र बाथरुममा आवश्यक पर्ने स-साना सामाग्री उत्पादन गर्छ । देख्दा सानो लागे पनि खानेपानी र बाथरमको काममा नभई नहुने यस्ता सामाग्रीका लागि नेपालको बजार भने भारतमै पूर्णरुपमा निर्भर थियो । पूर्वमा यस्तै प्रकारको एउटा उद्योग मात्र सन्चालनमा रहेका बेला बस्नेत दम्पत्तीले यस्ता सामाग्री उत्पादन गर्ने हिम्मत गरेका थिए ।

भारतीय उत्पादनसंग प्रतिस्पर्धा गर्नुपर्ने अवस्था त छदै छ । बिदेशबाट कच्चा पदार्थ मगाउनुपर्ने देखि अति ससाना सामाग्री बनाउनुपर्ने चुनौतीका बीच खानेपानी परियोजना र घरायसी प्रयोजनका लागि आवश्यक पर्ने सामाग्रीको आयात प्रतिस्थापनका लागि उनीहरुले उद्योग खोल्ने निर्णय लिए ।

यसको पछाडीको पृष्ठभूमि भने यस्तो छ । भारतको जालन्धरमा घुम्न गएका बेला बस्नेतले यस्तो उद्योग देखे । ती उद्योगमा उत्पादन भएका फित्तलबाट बनेका चहकिला स(साना सामाग्रीले उनलाई लोभ्यायो । व्यवस्थापन पढेको र पढाउँदै गरेका बस्नेतको मन भित्र नेपालमै यस्तो उद्योग किन नखोल्ने भन्ने प्रश्न तेर्सिएका थिए । त्यही प्रश्नको जवाफ खोज्दै गर्दा बस्नेतको पढ्ने, पढाउने बाहेक उद्यमी बन्ने यात्रा पनि शुरु भएको थियो ।

नेपाल फर्किउपछि उनले बजारको सुक्ष्म अध्ययन गरे । त्यसबेला देशमा खानेपानीका परियोजना बन्दै थिए । आधुनिक घरहरु निर्माण गर्दैगर्दा बाथरुमका लागि बिभिन्न नयाँ नयाँ सामाग्रीको प्रयोग गरिन्थ्यो । तर त्यसमा आवश्यक सामाग्री भने बिदेश मगाउनुपर्ने बाध्यता थियो । त्यही बाध्यता हटाउँन २०६७ सालमा सानो क्षमताबाट भए पनि शूरु भएको अंकुरउद्योगले आज देशभर बजार लिन सफल भएको छ । बस्नेतको उद्योग यात्रा यत्तिमै रोकिएको छैन ।

आयात प्रतिस्थान मात्र होइन निर्यात गर्नेसम्मको योजना बनाएको उनले बताए ।
कच्चा पदार्थको आयातमा सहुलियत दिन सके केही वर्षभित्र कम्तिमा भारतको उत्तरप्रदेशसम्म अंकुरका उत्पादन पुर्याउने बस्नेतको लक्ष्यले सम्भवत हरेक नेपाली उद्योगीलाई निर्यात व्यापारका लागि प्रोत्साहित गर्छ । सतही कुरा होइन विषयगत ज्ञानका आधारमा सटिक कुरा गर्ने र हँसिलो स्वभावका बस्नेत निरासा होइन आशावादी भएर अगाडी बढ्नुपर्ने बताउँछन् । निजीक्षेत्र समस्यारहित छैन र निरास भएर टाउकोमा हात राखेर बस्नुपर्ने अवस्था पनि नरहेकोमा उनी सहमत छन् ।

अहिले धेरै जसो खानेपानीका योजनामा अंकुरका सामाग्री प्रयोग भएका छन् । तर कतिपय उपभोक्ताले सस्तोको नाममा भारतीय कमसल सामाग्रीको प्रयोग गर्न भने अझै छाडेका छैनन् । त्यसको मारमा स्वदेशी उद्योग परेका छन् । भारतबाट कमसल प्रकारमा सामाग्री भित्रिन्छन् जो यहाँको उत्पादन भन्दा थोरै सस्तो त हुन्छ नै । त्यही थोरै सस्तोको लोभमा उपभोक्ताले गुणस्तरहिन सामाग्रीको प्रयोग गरिरहेका छन् । यद्यपी बस्नेत स्वदेशी उत्पादनलाई माया गर्ने उपभोक्ताको संख्या दिनप्रतिदिन बढ्दै गएकाले बजारको समस्या नहुनेमा आशावादी छन् । खानेपानी परियोजना सफल बनाउन सारथी बनेको अंकुरको गुणस्तरीयतामा कहिल्यै सम्झौता नगर्ने बस्नेत दम्पत्तीको अठोट छ ।

 

प्रकाशित मितिः     ३ पुष २०८०, मंगलवार १३:१०  |