नेपालगन्ज उपमहानगरमा पाँच थरी भत्ता, तीन थरी इन्धन खर्च


नेपालगन्ज । उपमहानगरपालिकामा बिभिन्न पाँच शिर्षकमा भत्ता वितरण गर्ने गरेको पाइएको छ भने तीन थरी शिर्षकमा इन्धन खर्च दिने गरिएको छ । पालिकाहरुले भत्ता र इन्धनमा मितिव्यता नअपनाउने गरेको भन्दै आलोचनाका स्वरहरु सुनिने गरेका छन् ।

मंगलवार उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८०÷८१ को मंसिर महिनासम्मको आयव्य विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरणमा उल्लेख भए अनुसार,स्थानीय भत्ता, कर्मचारी बैठक भत्ता,महंगी भत्ता, अन्य भत्ता र पदाधिकारी बैठक भत्ता गरी पाँच थरी भत्ता वितरण गरिएको छ ।

त्यस्तै इन्धनतर्फ इन्धन(पदाधिकारी), इन्धन(कार्यालय प्रयोजन) र इन्धन(अन्य प्रयोजन) गरी तीनथरी शिर्षकमा वितरण गरिएको छ । कर्मचारीको बृत्ति विकासका लागि भत्ता आवश्यक रहे पनि वितरणमुखी भत्ताले सरकारी रकमको फजुल खर्च बढेको सरोकारवाला निकायको निष्कर्ष छ । अर्कोतर्फ मनपरी तरिकाले इन्धनको प्रयोगलाई रोक्न सकिएको छैन ।

उपमहानगरले चालु आर्थिक वर्षको मंसिर महिनासम्म स्थानीय भत्ता शिर्षकमा रु रु १६ लाख ९७ हजार ९ सय ३३ खर्च गरिसकेको छ । यही शिर्षकमा यो वर्ष रु ४५ लाख विनियोजन गरिएको छ । त्यस्तै कर्मचारी बैठक भत्ता शिर्षकमा मंसिर महिनामा रु रु १ लाख २४ हजार खर्च गरिएको छ जबकी उक्त शिर्षकमा यो वर्ष रु १० लाख छुट्याइएको छ । मंहगी भत्ता शिर्षकमा मंसिरसम्म रु १६ लाख २३ हजार ६ सय ६६ रुपैया खर्च गरिएको छ । उक्त शिर्षमा यो वर्ष रु ४५ लाख बिनियोजन गरिएको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका जनप्रतिनिधिका लागि पदाधिकारी भत्ता वितरण गरिन्छ । चालु आर्थिक वर्षको मंसिर महिनामा यो शिर्षकमा रु १६ लाख ७६ हजार ९ सय ८८ खर्च भएको छ । यो आर्थिक वर्षमा रु रु ८८ लाख ७ हजार विनियोजन गरिएको छ ।

इन्धन तर्फ इन्धन(पदाधिकारी) ६ हजार ७ सय ८०, इन्धन(कार्यालय प्रयोजन) रु ४४ लाख २० हजार ८ सय २३ र इन्धन(अन्य प्रयोजन) ३ लाख ६४ हजार ५ सय ५७ हजार खर्च भएको छ ।

प्रकाशित मितिः     ४ पुष २०८०, बुधबार ०७:३४  |