धान खरिदको लक्ष्य ५१ हजार कुईण्टल, खरिद जम्मा ८ हजार कुईण्टल


नेपालगन्ज ६ पुष । राम्रो मूल्यमा खरिद गर्दा पनि बाँकेका धेरै कृषकले नेपालगन्जस्थित खाद्यन व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडमा धान बेचेको पाइएन् । धान नपाएपछि कम्पनीको लक्ष्य नभेटाउने भएको छ । कम्पनीका प्रमुख रामशरण लामिछानेका अनुसार, बाँकेमा ५१ हजार कुईण्टल धान खरिद गर्ने लक्ष्य राखिएको थियो । तर हालसम्म आठ हजार कुईण्टल मात्रै धान खरिद गरिएको छ ।

लिमिटेडले गत मंसिर ६ गतेबाट धान खरिद शुरु गरेको थियो । हालसम्म दुईसय जना किसानले मात्र कम्पनीमा पुगेर आठ हजार क्विन्टल धान बिक्री गरेका छन् ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड नेपालगन्जका प्रमुख लामिछानेले केही दिनदेखि किसानहरु धान विक्री गर्न आउन छाडेको जनाउँदै अब थप धान खरिद हुने सम्भावना नरहेको बताए । धान बिक्रीका लागि नाम दर्ता गराएका केही किसान पनि धान बिक्रीका लागि नआएको प्रमुख लामिछानेको भनाइ छ ।

’एकजना किसानबाट ४० क्विन्टल धान खरिदको कोटा निर्धारण गरेर खरिद शुरु गरिएकोमा जिल्लाका दुई सय किसानको धान खरिद गरेका छौं ।’— उनले भने । यस वर्ष नेपालगन्जमा ३३ हजार कुईण्टल मोटा र १८ हजार कुईण्टल मध्यम धान गरेर ५१ हजार कुईण्टल धान खरिद गर्ने लक्ष्य लिइएकोमा लक्ष्यभन्दा धेरै कम धान खरिद भएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

सरकारले मोटा धानको मूल्य कुईण्टल तीन हजार १९८ र मध्यम धानको मूल्य प्रतिकुईण्टल तीन हजार ३६२ रुपियाँ कायम गरेको थियो । कम्पनीको कारकाँदोस्थित गोदाम र कार्यालयको प्राङ्गणमा शुरुमा धान विक्री गर्न आएको अधिकांश किसानले कम्पनीले ढिलो गरी खरिद शुरु गरेको प्रतिक्रिया दिए । तर पछि धेरै किसान धान विक्रीका लागि नआएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले जनाएको छ ।

प्रकाशित मितिः     ७ पुष २०८०, शनिबार ०९:१४  |