इन्जिनियरको न्यूनतम् पारिश्रमिक ३७ हजार १३५ रुपैयाँ तोक्न माग


ललितपुर। नेपाल इन्जिनियरिङ एसोसिएसनले इन्जिनियरको न्यूनतम् पारिश्रमिक निर्धारण गर्न माग गरेको छ। एसोसिएसनले आइतबार पत्रकार सम्मेलन गरी न्यूनतम् पारिश्रमिक ३७ हजार १३५ रुपैयाँ निर्धारण गर्न माग गरेको हो । सरोकारवाला निकायसँगको चरणवद्ध छलफल र अनलाइन सर्भेबाट प्राप्त सुझावका आधारमा यो माग गरिएको एसोसिएसनले जनाएको छ।

एसोसियसनका अध्यक्ष हरिबहादुर दर्लामीले दक्ष जनशक्तिको विदेश पलायन न्यूनीकरण गर्नका लागि सरकारले सक्दो चाँडो न्यूनतम् पारिश्रमिक तोकि कार्यान्वयन गर्नुपर्ने बताए। सरकारले न्यूनतम् पारिश्रमिक नतोकेको र निजी क्षेत्रले श्रम शोषण गरेका कारण इन्जिनियरहरू विदेश पलायन भइरहेको उनको भनाइ छ।

निजी तथा गैरसरकारी क्षेत्रले सरकारी स्केलको कम्तीमा ८५ प्रतिशत तलब सुविधा दिनुपर्ने नीतिगत व्यवस्था गरी कडाइका साथ कार्यान्वयन गर्न एसोसिएसनले माग गरेको छ। एसोसिएसनका अनुसार हाल देशभर करिब ८० हजार इञ्जिनियर छन्। तीध्ये ७० प्रतिशतभन्दा बढी निजी क्षेत्रमा कार्यरत छन्।

प्रकाशित मितिः     ८ पुष २०८०, आईतवार १८:५६  |