काठमाडौं। नेपालमा निर्यात व्यापार निरन्तर घट्दो क्रममा रहेको देखिएको छ । चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो ५ महिना (साउन–मंसिर) को तथ्यांक अनुसार वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.९६ प्रतिशत रहेको छ । आयातको हिस्सा ९१.०४ प्रतिशत रहेको छ ।
तथ्यांक अनुसार मंसिरसम्म ७ खर्ब ५ अर्ब ४१ करोड रुपैयाँको वैदेशिक व्यापार भएको छ । यसमध्ये निर्यात मात्र ६३ अर्ब २० करोड रुपैयाँको मात्र भएको छ । जुन ८.९६ प्रतिशत मात्र हुन आउँछ । यस आवको मंसिरसम्म भएको निर्यात गत वर्षको यसै अवधिको तुलनामा समेत कम हो । गत आवको मंसिरसम्म ६७ अर्ब ३० करोड रुपैयाँको निर्यात भएको थियो ।
कात्तिकसम्म वैदेशिक व्यापारमा निर्यातको हिस्सा ८.९८ प्रतिशत रहेको थियो । असोजसम्मको तथ्यांक अनुसार वैदेशिक व्यापारमा निर्यातको हिस्सा ९.११ प्रतिशत रहेको थियो । भदौमा ९.२४ प्रतिशत हिस्सा निर्यातको थियो ।
साउनमा निर्यातको हिस्सा ९.४८ प्रतिशत रहेको थियो । व्यापार तथा निर्यात प्रबर्द्धन केन्द्रका अनुसार यस वर्ष फलाम तथा त्यसको उत्पादनको निर्यात बढेपनि ऊनी गलैंचा, यार्न, जुट तथा जुटका उत्पादनको निर्यात खुम्चिन पुगेको छ ।
सबैभन्दा धेरै पामतेलको निर्यातमा ह्रास आएको छ । चिया निर्यात समेत यस वर्ष खुम्चिएको छ । यी वस्तुहरुको निकासीमा आएको ह्रासले समग्र वस्तु निर्यातमै नकारात्मक प्रभाव पारेको हो ।
भन्सार विभागको तथ्यांक अनुसार चालु आवको पहिलो ५ महिनाको अवधिमा आयात भने साढे ६ अर्ब रुपैयाँ बराबरको भइसकेको छ । मंसिरसम्म ६ खर्ब ४२ अर्ब २० करोड रुपैयाँको आयात भएको छ । यो गत आवको यसै अवधिको तुलनामा ३.३९ प्रतिशत कम हो । गत आवको यसै महिनासम्म ६ खर्ब ६४ अर्ब ७४ करोड रुपैयाँको वस्तु आयात भएको थियो ।
व्यापार तथा निर्यात प्रबर्द्धन केन्द्रका अनुसार यस वर्ष पेट्रोलियम पदार्थको आयातमा कमी आएको छ । फलाम तथा स्टीलको आयात समेत केही खुम्चिएको छ । कच्चा भट्टमासको तेल र औषधि आयात समेत घटेको छ ।
कच्चा पाम तेलको आयात समेत धेरैले घट्ने वस्तुमा परेको छ । यस वर्ष तयारी पोषक र अन्नको आयात भने बढेको छ । दूरसञ्चारका सामग्रीको आयातमा समेत सकारात्मक वृद्धि देखिएको केन्द्रले जनाएको छ । वैदेशिक व्यापारमा आयातको हिस्सा ९१.०४ प्रतिशत रहेको छ ।