(प्यान नम्बर) लिने करदाताको संख्या ५७ लाख ९७ हजार ३४६


काठमाडौं। अर्थ मन्त्रालयले हालसम्म मुलुकमा स्थायी लेखा नम्बर (प्यान नम्बर) लिने करदाताको संख्या ५७ लाख ९७ हजार ३४६ पुगेको विवरण सार्वजनिक गरेको छ।

सबै किसिमका करदाता गरेर २०७९ कात्तिकसम्म ५५ लाख ५४ हजार २६ जना करदाता रहेकामा १ वर्षमा २ लाख ४३ हजार ३२० करदाता थपिएपछि यस्तो संख्या करिब ५८ लाख पुगेको हो।

मन्त्रालयका अनुसार एक वर्षे अवधिमा करिब २ लाख व्यक्तिगत करदाता थपिएका छन्। २०७९ कात्तिकदेखि २०८० कात्तिकसम्मको अवधिमा १ लाख ९९ हजार ३६१ जनाले स्थायी लेखा नम्बर लिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयको तथ्यांकअनुसार एक वर्षे अवधिमा ४१ हजार ८३३ वटा संस्थाले व्यावसायिक स्थायी लेखा नम्बर लिएका छन् भने २ हजार १२६ वटा करकट्टी गर्ने निकायले स्थायी लेखा नम्बर लिएका छन्।

यस्तै, सोही अवधिमा करिब १० हजार मूल्य अभिवृद्धि करमा दर्ता भएसँगै यस्तो करमा दर्ता हुनेको संख्या ३ लाख १८ हजार ३६२ पुगेको छ। मन्त्रालयका अनुसार एक वर्षे अवधिमा ४ हजार ६४१ वटा निकाय अन्तःशुल्कमा दर्ता भएका छन्।

सरकारले करको दरभन्दा दायरा वृद्धि गर्ने लक्ष्यअनुसार करदाताको संख्या बढाउने गरी कार्यक्रम कार्यान्वयन गर्दै आएको छ। आन्तरिक राजस्व विभागले स्वैच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार नारासहित कर असुलीलाई प्राथमिकतामा राख्दै आएको छ।

सरकारले २ हजार रुपैयाँ बढीको कारोबारमा स्थायी लेखा नम्बर अनिवार्य गरेपछि करदाताको संख्या बढ्न थालेको हो।

आन्तरिक राजस्व विभागले स्वैच्छिक सहभागितासहितको फराकिलो कराधारः दिगो र उत्पादनमुखी अर्थतन्त्रको आधार नारासहित कर असुलीलाई प्राथमिकतामा राख्दै आएको छ।

करदाताको संख्या बढे पनि कर राजस्व वृद्धि भने सोचेअनुरुप हुन नसकेको आन्तरिक विभागका महानिर्देशक दीर्घराज र्मैनाली बताउँछन्।
‘प्यान नम्बर लिने करदाताको संख्या बढेको छ। नागरिकलाई कर तिर्नुपर्छ भन्ने चेतना जगाउने काम गर्दै आएका छौं। राज्यलाई कर तिर्नु नागरिकको कर्तव्य पनि हो’, मैनालीले भने।

प्रकाशित मितिः     ९ पुष २०८०, सोमबार १६:४७  |