सरकारी अड्डामा गैरनागरिकको २५ वर्षदेखि रजाई


नेपालगन्ज । भंसार नजिकै रहेको पशु क्वारेन्टाईन कार्यालय बाँकेको होल्डिङ यार्डको भवन २५ बर्षदेखि एउटा परिवारको नियन्त्रणमा । उक्त परिवारबाट सरकारी भवन नियन्त्रणमुक्त बनाउन सरोकारवाला निकायलाई हम्मेहम्मे परेको छ । कयौंपटक प्रयास गर्दा समेत भवन खाली गर्न नसकिएको पशु क्वारेन्टाइनका अधिकारीहरु बताउँछन् ।

अतहर हुसेन शेष नाम गरेका व्यक्ति होल्डिङ यार्ड रेखदेखको काम गर्थे । उनी कस्ता कामदार थिए भन्ने नखुले पनि त्यहाँको रेखदेख गर्दै परिवारसंगै यार्डमा बस्थे ।

त्यही बसोबास गरिरहेका बेला उनको मृत्यु भयो त्यसपछि पनि परिवारका अन्य सदस्यहरु त्यही बसिरहे । मानवीय संवेदनाका कारण केही समय बस्न दिए पनि २५ वर्ष पुग्दा सम्म पनि उनीहरुले घरको अन्य बिकल्प नखोजेर सरकाी भवनलाई नै नियन्त्रणमा राखेको कर्मचारीहरुले बताए ।

उक्त भवनमा उनकि पत्नि,छोरा छोरि बसोबास गर्दै आएका छन् । छोरा छोरिले बिहे गरेर विभिन्न ठाउँमा काम समेत गर्दै आएका छन् । सरकारि भवनको अनाधिकृत प्रयोग हटाउन खोजे पनि यसअघि कसैले सकेको थिएन । पटक—पटक प्रयास गर्दा पनि कुनै राजनीतिक शक्तिको आडमा भवन नियन्त्रणमुक्त गर्न नसकिएको क्वारेन्टाइन स्रोतले बताएको छ ।

तर आईतवार भने भवन सात दिनभित्र खाली गर्न लिखित सूचना टाँसिएपछि भवन परिवारबाट मुक्त हुने आशा पलाएको छ । बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलका अनुसार एक तले भवनमा उक्त परिवार अवैध रुपमा बस्दै आएका छन् र उनिहरु गैर नेपाली नागरिक हुन ।

लामो समयदेखि सरकारि भवन प्रयोग गरिरहेका परिवारलाई हटाउने कार्यमा सहयोग गर्न भन्दै क्वारेन्टाइनले २०७८÷११÷२६ मा नै बाँके प्रशासनलाई लिखित अनुरोध गरेको थियो । बिबिध कारणले कार्यान्वयन प्रकृयाले गति नलिएको “गुनासो“लाई संवोधन गर्ने प्रकृया प्रशानले शुरु गरेको छ ।

प्रमुख जिल्ला अधिकारी पोखरेलका अनुसार सरकारी स्वामित्वको भवन बर्षौ देखि अनाधिकृत तवरले कब्जा गरिरहेका गैर नेपाली नागरिक परिवारलाई उक्त भवन खाली गरि दिन आइतबार ७ दिनको सूचना जारी गरिएको छ । आईतवार सुरक्षाकर्मी सहित पुगेको टोलीले उक्त अल्टिमेटम दिएको हो ।

पशु क्वारेन्टाइनका नाममा टाँस गरिएको सूचनामा २५ वर्षदेखि भवन अनाधिकृतरुपमा प्रयोग भइरहेको भन्दै सातदिन भित्र छाड्न निर्देशन दिइएको छ । यता उक्त घरमा बस्दै आइरहेकाले पनि आफुहरुले घरको रेखदेख गरेको भन्दै केही न केही न्याय गर्नुपर्ने बताउँन थालेका छन् ।

प्रकाशित मितिः     १० पुष २०८०, मंगलवार २२:३८  |