नेपालगन्ज १८ पुष । बजारमा छाएको आर्थिक मन्दीको असर आर्थिक अपराधमा समेत देखापरेको छ । प्रहरी कार्यालयमा दिनहुँ जस्तो चेक बाउन्स लगायत रकम ठगीका उजुरीहरु परिरहेका छन् । आर्थिक अपराधसंग जोडिएका मुद्दाको संख्या पनि उत्तिकै बढेको पाइएको छ ।
बाँके जिल्ला अदालतको २०७८ भदौ २३ गतेको फैसलाले कोहलपुर —१० रामनगर बस्ने वर्ष ५२ को चतुर्भज शाहलाई बैङ्किङ कसुर मुद्दामा ७ दिन कैद र रु ८ लाख जरिवाना तोकिएको थियो । तर फरार अवस्थामा रहेका उनलाई प्रहरी टोलिले पुष १३ गते पक्राउ गरी बाँके जिल्ला अदालतमा बुझाएको छ । शाह जस्तै बैङ्किङ कसुरमा सजाय भोग्नेको संख्या दिनानुदिन बढ्दै छ ।
बाँकेको अदालत र प्रहरी कार्यालयमा पुगेका बैंकिङ कसुर तथा सजाय ऐन २०६४ अन्तर्गतका मुद्दालाई हेर्दा ‘चेक’ दिएर ‘फटाही’ गर्नेको कमी छैन । ५० हजारदेखि ६० लाखसम्मका मुद्दा अदालतमा परेको छ । प्रहरीमा त साना तिना दैनिक ४÷५ वटा नै निवेदन आउने गरेको छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायब उपरिक्षक डिएसपी नारायण डाँगीका अनुसार, आर्थिक वर्ष २०८०÷८१ को पौष मसान्तसम्म चेकबाउन्स सम्बन्धी १ सय ५५ वटा उजुरी परेका छन् । बैंकिङ कसुरका मुद्दा त पहिला पनि आउने गर्दथ्यो । पछिल्लो वर्ष भने दोब्बरले बढेको छ ।
गाउँ—शहरमा आर्थिक लेनदेनका लागि ‘कागज’ गर्ने र पछिको मिति राखेर ‘चेक’ दिने गरिन्छ । आर्थिक लेनदेनसँग सम्बन्धित यो कारोबारमा ‘विश्वासको संकटमात्रै होइन, फटाही’ हुने गरेको मुद्दाको संख्याले देखाइरहेको छ ।
पछिल्लो समयमा आएर अन्य प्रकारका विभिन्न आपराधिक घटनासहित बाँकेमा आर्थिक अपराधका घटनाहरू पनि बढ्दै गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार जिल्लामा आर्थिक लेनदेन, ठगी, झुक्क्याउने लगायतका घटना बढ्दै गएकोमा सबैभन्दा बढी बैङ्किङ कसुरका घटनाहरू हुने गरेको पाइएको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रवक्ता डिएसपी डाँगीले जिल्लामा बैङ्किङ कसुरका उजुरी विगतका तुलनामा अहिले धेरै नै बढी आउन थालेको बताए ।
उनले गत आर्थिक वर्ष ०७९÷०८० मा मात्र जिल्लामा बैङ्किङ कसुरका ३०५ वटा उजुरी परेको बताए । डिएसपी डाँगीले अघिल्लो वर्ष ०७८÷०७९ मा बैंकिंग कसुरका ७५ वटा उजुरीमात्र परेकोमा गत आवमा त्यसको तीन गुणाभन्दा बढी ३०५ वटा उजुरी परेको जानकारी दिए । प्रहरीका अनुसार सो भन्दा पहिले आर्थिक वर्ष ०७७÷०७८ मा त्यस्ता १४ वटा उजुरी मात्र परेका थिए ।
बैङ्किङ कसुरलगायत अधिकांश आर्थिक अपराधका घटनाहरू समाजमा पनि मिलाइने गरिएकाले त्यस्ता घटना झनै धेरै भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । प्रहरी प्रवक्ता डिएसपी डाँगीले भने, ‘‘रकम लिने र दिनेबीच लेनदेन मिलाउन अधिकतम प्रयास गर्दा पनि समाधान नभएपछि पीडितहरू उजुरी बोकेर प्रहरीमा आउँछन्, दुवै पक्षलाई झिकाएर मेलमिलाप गराउने र उजुरीको बारेमा अनुसन्धान गरेर पीडित पक्षलाई न्याय दिने काम गरिरहेका छौँ ।’’
पछिल्लो समय उत्पन्न आर्थिक सङ्कटका कारण लेनदेन तथा बैङ्किङ कसुरका मुद्दा बढेको जनाइएको छ । नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष टंक धामीले आर्थिक सङ्कटले पनि आर्थिक अपराध बढ्दै गएको हुनसक्ने बताए । उनले आर्थिक सङ्कटका कारण समाजको हरेक वर्ग र समुदाय पीडित बनेकाले त्यसकै कारण पनि आर्थिक अपराध बढ्दै गएको हुनसक्ने आशङ्का गरे ।