नेपालगन्ज । नेपालगञ्जबाट काठमाडौँतर्फ आइरहेको यात्रु बस दाङको भालुवाङमा दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन्।
भे१ख ३९१२ नम्बरको माउन्टेन एयर न्यु बस शुक्रबार राति दुर्घटना भएको हो। पाँच जनाको घटनास्थलमै र ७ जनाको उपचारार्थ लैजादैगर्दा र अस्पतालमा यात्रुको मृत्यु भएको प्रहरीले जनाएको छ।
दाङ र अर्घाखाँची जोड्ने पुलबाट बस राति १० बजेतिर राप्ती नदीमा खसेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए। मृत्यु हुनेमा ११ पुरुष र एक महिला छन्। शव पोस्टमार्टमका लागि लमही अस्पतालमा राखिएको छ।
प्रस्तावित अस्पताल भालुवाङ र लमही अस्पताल लमहीमा उपचारार्थ पुर्याइएका घाइतेमध्ये केहीलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही लगिएको छ।
बस नमस्ते यातायात अन्तर्गतको उक्त बस तीव्र गतिका कारण दुर्घटनामा परेको अनुमान छ। घटनालगत्तै चालक सल्यानका २८ वर्षीय लालबहादुर नेपालीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घाइतेलाई स्थानीय, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले उद्धार गरेका थिए।