बाँके । बार्षिक २० हजार मेट्रिक टन मसुरो उत्पादन गर्ने दिर्घकालीन योजना सहित बाकेमा २०७३ सालमा शुरु गरिएके मिसन मसुरो’ कार्यक्रम बेपत्ता जस्तो अवस्थामा छ । एकपटक खेती नै नगरी बन्द भएको कार्यक्रम शुरु गर्नु त कहाँ हो कहाँ कुनै पनि सरोकारवाला निकाय अपनत्व समेत लिन तयार छैनन् ।
तत्कालिन अवस्थामा नेपाल उद्योग वाणिज्य महासंघले बिभिन्न गैरसरकारी संस्थाको सहयोगमा देशका बिभिन्न जिल्लामा एक जिल्ला एक उत्पादन’ कार्यक्रम अन्र्तगत बाकेमा मसुरो खेतीलाई छनौट गरिएको थियो । मसुरो उत्पादक कृषकहरुलाई ग्रेडिङ्ग मेसिन र मसुरोको बिउ ५० प्रतिशत अनुदानमा बितरण समेत गरिएको थियो । तर त्यसको उत्पादन समेत नपर्खि कार्यक्रम अलपत्र परेको सात वर्ष भइसकेको छ ।
कृषि ज्ञान केन्द्र बाँकेका सूचना प्रसार अधिकृत एवं कृषि बिज्ञ जीवनकुमार केसीका अनुसार, बाँके मसुरो उत्पादनका लागि उर्वर जिल्ला मानिन्छ । तर पटक–पटकको प्राकृतिक प्रकोपका कारण उत्पादन घट्दै गएपछि कृषक मसुरो खेतीबाट पछि हट्दै गए । जसका कारण कुनै बेला बाँके र बर्दियाबाट बिदेश निर्यात हुने मसुरो आयात गर्नुपर्ने अवस्थामा पुग्यो । मसुरो उत्पादनमा कृषकलाई प्रोत्साहित गर्न मिसन मसुरो कार्यक्रम शुरु गरिएको देखिन्छ तर त्यो अहिले संचालनमा छैन ।’ केसीले भने । बाँकेमा गत वर्ष आठ हजार हेक्टरमा आठ मेट्रिक टन मसुरो उत्पादन भएको थियो । कृषकलाई प्रोत्साहन गर्ने हो भने अझ बढि मसुरो उत्पादन हुने केसीले जानकारी दिए ।
तर मसुरो उत्पादनको आशा सहित शुरु गरिएको कार्यक्रम अलपत्र परेकोमा दुःख व्यक्त गर्छन नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ । उनी अध्यक्ष हुँदा केन्द्रले बाँकेमा कार्यक्रम शुरु गरेको थियो । कृषिक्षेत्रको प्रगतिका लागि सरकार र निजीक्षेत्रबीच शुरु भएको सहकार्य निष्कर्षमै नपुगी बन्द हुनु उचित नभएको श्रेष्ठ बताउँछन् । बाँकेमा यो कार्यक्रमका लागि दुई वर्षमा २० लाख खर्च भए पनि उपलब्धि भने शून्य देखिएको थियो। प्रदेश र स्थानीय तहमध्ये कसले कार्यक्रम सञ्चालन गर्ने भन्ने अन्योलकै कराण यो कार्यक्रम अहिले प्रभावकारी हुन नसकेको श्रेष्ठले बताए ।
कृषि विकास कार्यालय, सहकारी डिभिजन र जिल्ला विकास समिति खारेज भई नयाँ संरचनामा गएपछि पनि कार्यक्रम अघि बढ्न नसकेको उनको भनाइ छ । श्रेष्ठका अनुसार बाकेमा व्यवसायीकरुपमा मसुरो खेती गर्ने हो भने झण्डै २० हजार मेट्रिक टन मसुरो दाल उत्पादन गर्ने लक्ष्य त्यतिबेला सुनाइएको थियो । उनले भने,कृषि प्रमुख प्रधानले बेतहनी, बनकट्टी र होलियालाई मसुरोको पकेट क्षेत्रका रुपमा विकास गर्न सकिने र पानी कम आवश्यकता पर्ने, राप्तीको चिस्यानबाटै पनि मसुरो खेती हुनसक्ने बिश्लेषण गरिएको थियो ।’