सहकारी समस्याका मुख्य दोषी संचालक


नेपालगन्ज ७ माघ । घरैपिच्छे सहकारी पीडित भेटिन थालेका छन् । सहकारीबाट नठगिएका नागरिक भेटिन मुस्किल छ । निम्न बर्गको जनताको आयस्तर उकास्न प्रभावकारी हुने अपेक्षा गरिएको सहकारीका नाममा भइरहेको यस्तो ठगी धन्दाको मुख्य कारक को ? अदालतका आदेश र अध्ययन प्रतिवेदनलाई मान्ने हो भने त्यसको मुख्य दोषी संचालक हुन ऋण नतिर्ने ऋणी र आर्थिक मन्दीको कारण त सहायक मात्रै हो ।

बाँके जिल्लाको बहुचर्चित सहकारी घोटलामा पर्छ सहकारी वित्तीय संसथा लिमिटेड बाँके जिल्ला अदालतले उक्त सहकारीको अपचलन मुद्दामा दोषी ठहरिएका १९ जनालाई अधिकतम कसुर र सजाय र जरिवाना तोकेको छ । कसुर ठहर हुनेमा सहकारीका तत्कालीन सञ्चालक समिति र कर्मचारी छन् ।

सजाए पाउनेमा तीनजना पूर्व अध्यक्ष सहितका पदाधिकारी छन् । उनीहरुका हकमा अदालतले जिम्मेवारी बहन नगरेको आफ्नो आदेशमा जनाएको छ । उनीहरुले आफ्नो जिम्मेवारी निर्वाह नगर्दा कर्मचारीलाई सहकारी डुबाउने वातावारण बनाइदिन्छन् कित उनीहरु आफै सहकारी डुबाउन प्रत्यक्ष संलग्न हुन्छन् ।

पुर्व अध्यक्ष हरदेव बक्स चौधरी र अम्बर बहादुर खड्कालाई पचास हजार जरिवाना सहित पाँच/पाँच बर्ष कैद भएको छ । अध्यक्षको भूमिकामा रहंदा सिद्दी कुमार महर्जन, अम्बर बहादुर खड्का र हरदेब बक्स चौधरीले कार्यकारी भूमिकामा रहेर काम गरेको तर आर्थिक हिनामिना रोकथाम गर्नेतर्फ प्रभावकारी भूमिका निर्वाह गरेको नदेखिएको अदालतको ठहर्छ । खड्का र चौधरी संस्थाको रकम हिनामिना कार्यमा संलग्न कसूरदारहरूबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा फाइदा लिएको देखिन आएको र महर्जनले आफु तथा आफ्ना नातेदारको नाममा प्रक्रिया पुरा नगरी ऋण प्रवाह गरेको, संस्थाको धितो लिलाम सकार गरेको आदेशमा उल्लेख छ ।

अदालतले सहकारीको रकम हिनामिनामा संलग्न मुख्य अभियुक्त कर्जा फाँटका प्रमुख अरुण पाठकबाट २४ करोड ९१ लाख बिगो भराई पाँच वर्ष कैद र ५० हजार जरिवाना गर्ने आदेश दिएको छ । यि सहित १९ जनालाई अपराध अनुसार बिगो र कैद सजाए तोकिएको छ । बाँकेमा दर्जन सहकारीबाट संयौको संख्यामा सर्वसाधारण ठगिएका छन् । ठगिएका पीडितले उजुरी दिएको बताउँदै जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायाण डाँगी भन्छन्,उनीहरुका हकमा कानून बमोजिम अनुसन्धान भइरहेको छ ।’ सहकारीमा समस्या उत्पन्न हुनुमा मुख्य जिम्मेवारी संचालक नै भएको प्रष्ट किटान सहकारी क्षेत्र सुधार कार्यदल प्रतिवेदन२०८० मै छ ।

उक्त प्रतिवेदन अनुसार, प्रतिवेदन तयार गर्ने क्रममा सहकारी संघ संस्थाहरुमा आजको अवस्थाको मुख्य जिम्मेवारी कस्ले लिनुपर्ला भनि सर्वसाधारणलाई प्रश्न गरिएको थियो । त्यसक्रममा ५३.४५ प्रतिशतले सम्पूर्ण जिम्मेवारी संचालनले लिनुपर्ने जवाफ दिए । त्यसपछि १५.९९ जनाले त्यसको जिम्मेवारी सहकारीका सदस्यले लिनुपर्ने, २२.६१ प्रतिशतले सरकार र ७.९५ प्रतिशतले अभियानताले जिम्मा लिनुपर्ने बताएका थिए ।

कार्यान्वयनका लागि सरकारलाई बुझाइसकिएको उक्त प्रतिवेदनमा भनिएको छ,यस आधारमा बिश्लेषण गर्दा संचालक समितिले नै समस्याको समाधानार्थ सबैभन्दा पहिले पहल गर्नुपर्ने देखिएको छ ।’

प्रकाशित मितिः     ८ माघ २०८०, सोमबार ०८:५४  |