आयातको कमीले देशभरका भंसार जस्तै नेपालगन्जमा पनि लक्ष्य भेट्न चुनौती भएको छ । तर गत आर्थिक वर्ष भन्दा राजश्व असुली अलि बढि नै संकलन भएको छ ।
–पूर्णप्रसाद लम्साल, सूचना अधिकारी
नेपालगन्ज ९ माघ । चालु आर्थिक वर्ष २०८०÷०८१ को पुष मसान्तसम्म पनि नेपालगन्ज भंसार कार्यालयले लक्ष्य अनुसार राजश्व संकलन गर्न सकेको छैन् । देशभरका भंसार कार्यालय जस्तै लक्ष्य यो भंसारले पनि राजश्व संकलनको लक्ष्य भेटाउन नसकेको हो ।
श्रावण महिनामा रु एक अर्व ८१ करोड ३० लाख लक्ष्यमा रु १ अर्व ४१ करोड ४० लाख, भदौमा तोकिएको रु २ अर्व २२ करोड १४ लाख लक्ष्यमा १ अर्व ४५ करोड ११ लाख, असोजमा रु २ अर्व ४४ करोड ५३ लाख लक्ष्यमा १ अर्व ४८ करोड ६० लाख, कात्र्तिकमा २ अर्व ३८ करोड ९१ लख लक्ष्यमा १ अर्व २४ करोड २१ लाख, मंसिरमा २ अर्व ५२ करोड ३६ लाख लक्ष्यमा १ अर्व ५५ करोड ८९ लाख र पुषको रु २ अर्व ५६ करोड ६० लाख लक्ष्य तोकिएकोमा रु १ अर्व ५३ करोड ५५ लाख राजश्व असुली भएको छ ।
बिगतमा राजश्व असुलीमा योगदान गरेका सामाग्रीमा भएको आयातको कमीले राजश्व लक्ष्य अनुसार संकलन हुन नसकेको नेपालगन्ज भंसारका सूचना अधिकारी पूर्णप्रसाद लम्सालले बताए । उनले भने,आयातको कमीले देशभरका भंसार जस्तै नेपालगन्जमा पनि लक्ष्य भेट्न चुनौती भएको छ ।
तर गत आर्थिक वर्ष भन्दा राजश्व असुली अलि बढि नै संकलन भएको छ ।’ लम्सालका अनुसार,गत आर्थिक वर्षको पुष महिनाकोमा लक्ष्य ५६.३१ प्रतिशत राजश्व संकलन भएकोमा चालु आवको पुष महिनामा भने थोरै बढेर लक्ष्यको ५९.८४ प्रतिशत राजश्व संकलन भएको सूचना अधिकारी लम्सालले बताए ।
लम्सालका अनुसार राजश्व संकलनमा योगदान दिदै आएका चामल,सुपारी लगायतका केही बस्तुको आयात घटेका कारण राजश्व संकलन प्रभाजित भएको हो । राजस्व सोचेअनुरुप संकलन हुन नसक्नु चोरी, तस्करी मुख्य रहेको स्थानीयको समेत भनाइ छ ।
यो भन्सारबाट खोटो रोजिन, जडीबुटी, प्लाष्टिकको नालीपाइप, दाल, चिनी, चोकर, भुस, प्लाष्टिक बोतल, वियर पुराना कपडा तथा लुगाफाटा, प्लाष्टिक पाइप फिटिङ, मसला, पिना, अदुवा, सुठो र रद्दी कागज जस्ता समान भारतलगायत तेस्रो मुलकमा निकासी हुने गरेको छ ।
आयातीत वस्तुमा एमएस ब्लेट, डिजेल, पेट्रोल जिप, कार भ्यानलगायतका सवारी साधन पेट्रोलियम पदार्थ, कोइला, पोलिथिन दाना, तेल,मार्बल, मोटर गाडीका पार्टपूर्जा, कागज, मेसिनरी पाटर्स, खाद्यान्न, माछा, विद्युतीय सामग्री रहेको छ ।