शहरका भान्सामा ‘थारु आलु’


नेपालगन्ज । आदिवासी थारु समुदायले लगाउने स्थानीयस्तरमा ‘घरैया’ समेत भनिने थारु आलु शहरमा अत्यधिक रुचाउन थालिएको छ । खानमा स्वादिलो भएका कारण याे आलु किन्नेको ताँती नै लाग्छ भने यसले राजधानी काठमाडौंसम्म बजार लिएको छ ।

माग बढेकाे र थोरै मेहनेतमै धेरै फल्ने स्थानीय जातका आलु लोपोन्मुख अवस्थामा पुगेपछि स्थानीय किसानले त्यसका संरक्षणमा जुटेका हुन् । उनीहरुले दुई कठ्ठादेखि पाँचकठ्ठा जग्गामा थारु आलु खेती गरेका छन् ।

बाँके,बर्दिया लगायतका थारु समुदायकाे बाहुल्य भएको ठाउँमा यसकाे खेती गरिन्छ । बजारमा विकासेभन्दा स्थानीय जातकै आलुको माग बढ्न थालेपछि यो जातको आलु खेतमा लगाउन थालिएको हो।

बजारमा बेच्न लैजादा हातोहात बिक्री हुन्छ । ग्राहकले माग गरे अनुरुप पुर्याउनै नसिकने कृषकहरु बताउँछन् । परम्परागत रुपमा जैविक विधि प्रयोग गरी लगाइने भएकाले स्वास्थ्यवर्धक, स्वादिलो, भण्डारण गर्दा लामो समयसम्म नकुहिने र डढुवालगायतका रोग सहनसक्ने क्षमता भएकाले यस आलुको माग बढ्दो छ ।

 

विकासे आलुको तुलनामा स्थानीय जातको आलुको दाना सानो अर्थात् पाँच ग्रामदेखि १० ग्राम तौलको हुने गरेको छ । हाल आलु लगाउने आधुनिक प्रविधि प्रयोग हुनथालेपछि विगतको तुलनामा केही ठूलो दाना हुने गरेको छ ।

प्रकाशित मितिः     ९ माघ २०८०, मंगलवार १०:३३  |