कहिले बन्छ नाैवस्ता औद्योगिकक्षेत्र ?


नेपालगन्ज ११ माघ । २०३० सालमा स्थापना भएको नेपालगन्ज औद्योगिकक्षेत्रमा थप उद्योग संचालनको अवस्था छैन् । तीन दर्जन उद्योग यहाँ संचालनमा छन् । औद्योगिक क्षेत्रमा ठाउँ नपाएपछि नयाँ ठूला उद्योगहरु अन्यत्र धाइरहेका छन् । व्यवस्थित पूर्वाधार नभए पनि उद्योग खोल्नुपर्ने बाध्यता उद्योगीलाई छ ।

पचास दशक अघिको औद्योगिकक्षेत्र भरिएको अवस्थामा छ भने नयाँ निर्माण गर्ने योजनामा समेटिएका औद्योगिकक्षेत्र बन्न छाँटकाँट नदेखिएको नेपालगन्ज उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष चिरिञ्जीवी ओली बताउँछन् । उनी भन्छन्,बाँकेमा औद्योगिकरण बढ्दै जाने तर पूर्वाधार नबने अवस्था सिर्जना भएको छ ।’ लामो समय बित्दा समेत नौवस्ता औद्योगिकक्षेत्र नबन्नु दुःखद कुरा भएको ओलीको भनाई छ ।

बाँके औद्योगिक क्षेत्रको हब हो । यहाँका औद्योगिक उत्पादनले लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको आवश्यकता पूर्ति मात्र गरेको छैन, देश र विदेशमा पनि बजार फराकिलो पारेको छ । लुम्बिनी प्रदेशका जिल्लाहरुमध्ये पहिलो रुपन्देही र दोस्रो बाँकेमा उद्योगिक विकास बढी भएको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८० असार मसान्तसम्म बाँकेमा १ सय ९ वटा ठुला लगानीका उद्योग संचालनमा आएका छन् । यी उद्योगको चुक्ता पुँजि रु २२ अर्व ८७ करोड ९० लाख रहेको छ । बाँकेमा संचालित ठुला उद्योगमा ९ हजार १ सय ११ जनाले रोजगारी पाएको राष्ट बैंकको तथ्यांकमा उल्लेख छ । यहाका उद्योगमा बिगतमा अधिकांस कामदार भारतीय नागरिक हुने गरेको भए पनि अहिले स्वदेशी कामदारकै बाहुल्यता रहेको उद्योगीहरु बताउँछन् ।

यहाँ पञ्चायतकालमै औद्योगिक क्षेत्र स्थापना भएर अहिलेसम्म निरन्तर सञ्चालनमै छ । २ वटा औद्योगिक क्षेत्र निर्माणाधीन छन् । पहाडका जडिबुटी संकलन गरेर बाँकेमा प्रशोधन गरेर स्वदेश तथा विदेशमा बिक्री गर्न सकिन्छ । अहिले अधिकांश जडिबुटी लगायतका कच्चा पदार्थ संकलन गरेर कच्चा पदार्थकै रुपमा पैठारी भइरहेको छ । यसका लागि साबिक कर्णाली, राप्ती, भेरी, सेती र महाकाली अञ्चलबाट कच्चा पदार्थ संकलन गरी बाँकेका स्थापना गरिएका वा गरिने उद्योगका उत्पादनको बजारीकरण गर्न रेलमार्ग, राजमार्ग, हवाइ मार्गको व्यापक विकासमा जोड दिनुपर्ने बताउँछन् उद्योगी पशुपतिदयाल मिश्र । उनको भनाईमा यो कार्यका लागि राज्यले ढुवानी वा कर छुट वा अनुदानको व्यवस्था गर्नुपर्छ ।

राज्यले अनुदान, राहात वा छुट दिँदा स्थानीय कच्चा पदार्थ प्रयोग गर्ने उद्योगहरुलाई विशेष प्राथमिकताका साथ प्रोत्साहन गर्नुपर्ने बताउँछन् नेपाल उद्योग वाणिज्य महासंघका केन्ीय सदस्य अब्दुल वाहिद मन्सुरी । ‘ औद्योगिक क्षेत्रभित्र स्वदेशी कच्चा पदार्थ प्रयोग गर्ने उद्योगलाई कर, निश्चित अवधिसम्म भूमिको भाडा, पानी, विद्युत आदिको छुट गर्नुपर्छ ।’ मन्सुरीले भने । भारतको रुपैडियादेखि चीनको हिल्सा नाका कर्णाली कोरिडोर हुँदै विकास गर्न सकेमा त्रिदेशीय व्यापारिक सम्बन्ध कायम हुन्छ । यसले समग्र बाँके जिल्ला समृद्ध बन्ने आधार बन्ने बताउँदै मन्सुरीले नेपालगन्जलाई औद्योगिक राजधानीका रुपमा विकास गरेर संघीयताबाट परेको मारमा मल्हम लगाउन सकिने बताए ।

तर औद्योगिक पूर्वाधार निर्माण गर्न सरकारदेखि जनप्रतिनिधि उदासिन बनेका छन् । उनीहरुको लाचारीका कारण खजुरा गाउँपालिकामा औद्योगिकग्राम र बैजनाथ गाउँपालिकामा नौवस्ता औद्योगिकक्षेत्र निर्माण हुन नसक्दा आँकाशको फल’ सावित भएको छ । यो कहिले बन्ने हो भन्ने निश्चित छैन भने अब बन्छकी बन्दैन त्यसको पनि टुङ्गो छैन ।

औद्योगिक पूर्वाधार नबन्नुको मुख्य दोषी यहाँका जनप्रतिनिधि र राजनीतिक दलहरु छन् जसले पूर्वाधार निर्माणका लागि न वातावरण बनाउन सकेका छन् नत सम्बन्धित सरकारी निकायलाई बनाउन दवाव नै दिन सकेका छन् । गत असोज महिनामा बाँकेको नौबस्तामा प्रस्ताव गरिएको प्रदेशस्तरीय औद्योगिक क्षेत्र निर्माणको काम तत्काल सुरु गर्ने निर्णय गरिएको थियो । बाँके तत्कालिन प्रमुख जिल्ला अधिकारी विपीन आचार्यको अध्यक्षमा नेपालगन्जमा बसेको सर्वपक्षीय बैठकले बस्ती व्यवस्थापन गर्दै जाने तर तत्कालका लागि पूर्वाधार निर्माणको काम पनि सुरु गर्ने सहमति जुटाउँदै हप्तादिनभित्र नै टेन्डर आह्वान तयारी गरेको थियो जुन हालसम्म शुरु हुन सकेको छैन ।

यस्तै निर्णय तत्कालिन प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङ्गका पालामा पनि भएको थियो तर औद्योगिक क्षेत्र नबन्नुको मुख्य कारण बस्ती व्यवस्थापन नगर्दा त्यसले सार्थकता पाउन सकेन । प्रस्तावित जग्गामा बसोबास गर्नेहरूले आफूहरूको उचित व्यवस्थापन गर्नपर्ने माग गर्दै आएका छन् । प्रदेशस्तरको औद्योगिक क्षेत्र निर्माणका लागि बाँकेको बैजनाथ गाउँपालिका३ मा छुट्याइएको ३ सय ३८ बिघा क्षेत्रफल जमिनभित्रै २ सय ६८ स्थानीयले घरटहरा बनाएको हुँदा उनीहरूको अवरोधकै कारण हालसम्म निर्माण कार्य सुरु गर्न नसकेको नेपालगन्ज औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ ।

पटकपटक प्रयास गरे पनि जग्गा अतिक्रमण हटाउन नसक्दा हालसम्म पनि औद्योगिक क्षेत्र परियोजनाको काम अगाडि बढाउन सकिएको छैन ।
नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंक धामी औद्योगिक पूर्वाधार निर्माणमा लापरवाही भएको बताउँछन् । सम्बन्धित निकायलाई दवाव दिदा पनि बनाउन सुरसार नदेखिएको उनको भनाई छ । नौवस्ता औद्योगिक क्षेत्रको योजनामा शुरुदेखि नै जोडिएका नेपालगन्ज उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ भन्छन्,नीजिक्षेत्रप्रति सरकारी निकाय र दलहरु कति उदासिन छन् भन्ने कुरा यही घटनाले पुष्टि गर्छ ।’

 

प्रकाशित मितिः     ११ माघ २०८०, बिहीबार ०८:२७  |