सीप भए स्वदेशमै आम्दानी


नेपालगन्ज । नेपालगन्ज -१६ जयसपुरका समसुद्दिन अन्सारी उमेरले ३५ पुगे । याे उमेर समुहका उनका साथिहरु खाडिमा दु:ख गरिरहेका छन् ।

तर उनि नेपालगन्जमै बसेर सिकर्मीकाे काम गरेरै महिनाकै चालीस हजारसम्म आम्दानी गरिरहेका छन् । घरमै खाना खाइसकेपछि बिहान दस बजे नेपालगन्जस्थित नेपाल उड आर्ट इन्जिनियरिङमा पुग्छन् । साँझसम्म काम गरेर घर फर्किन्छन् । परिवारसंगै बसेर स्वदेशमै चालीस हजारसम्म कमाउँदा उनी पनि खुसि छन् ।

नसिम अन्सारी उमेर १९ पुगे । दुईबर्ष अघि सिकर्मीकाे काम सिकेका उनले अहिले महिनाकाे तीस हजारसम्म कमाइरहेका छन् । पढेर अरु केहि गर्ने परिवारिक अवस्था नभए पनि नसिम जस्तै फिराेजले पनि सिकर्मीकाे काम गरेर राम्रै आम्दानी गरिरहेका छन् । घरमै मिठाे मसिनाे खाई परिवारसंग बसेर आम्दानी गर्ने यस्ता युवा धेरै छन् ।

नेपालगन्जका फर्निचर उद्योगले यस्ता संयाै युवाहरुलाई राेजगारी दिएको बताउँछन् नेपालगन्जस्थित नेपाल उड आर्ट इन्जिनियरिङमा संचालक जनक डाँगी । हातमा सीप भए देशमै पैसा कमाउन समस्या छैन् भन्ने उदाहरण फर्निचरमा काम गर्ने युवाहरु बनेका छन् । पहिले याे क्षेत्रमा भारती कामदारकाे बाहुल्यता हुने गरे पनि अहिले नेपाली कामदार नै पर्याप्त रहेकाे डाँगीकाे भनाइ छ ।
काेभिडका समयमा फर्निचर उद्योगमा फरक तरिकाले संचालन गरिएको याे उड आर्टमा हातबाट बनाइएका आकर्षक ढाेका,झ्याल,राेयल बेड,राेयल साेफाहरु उत्पादन भइरहेकाे छ । पश्चिम नेपालमा यस्ताे आकर्षक कलाकृति भएका झ्याल ढाेकाकाहरु नेपाल उड आर्ट इन्जिनियरिङले बनाउँदछ । जहाँ ३३ जना युवाले राेजगारी पाएका छन् । आर्थिक शिथिलताले कहिलेकाही काममा हर्जा हुने गरे पनि अरु जस्ताे खाली बस्न नपरेका सिकर्मी युवाहरु बताउँछन् ।

प्रकाशित मितिः     १३ माघ २०८०, शनिबार ११:२८  |