पुराना सिनेमा हल बन्द,नयाँमा करोडौं लगानी


नेपालगन्ज । अहिले विद्युत प्राधिकरण भएको सामुन्ने मन्सुरी समशेरका भाइ बहादुर समशेरले खोलेको बागेश्वरी चित्र (सिनेमा) मन्दिरसंगै नेपालगन्जमा सिनेमा ईतिहास शुरु हुन्छ । बिक्रम संवद २०२७/२८ सालतिर हालकाे बिद्युत प्राधिकरणभित्र डिजेल प्लान्ट थियाे,त्यसैकाे सहारामा बागेश्वरी चित्र मन्दिर संचालन हुन्थ्याे ।

नेपालगन्ज शहरकाे इतिहासका खाेजकर्ता तथा बरिस्ठ साहित्यकार सनत रेग्मीका अनुसार केटाकेटी छँदा उहाँले पनि त्यहाँ सिनेमा पनि हेर्नुभएको थियो। पछि त्यो हल बन्द भयो । रेग्मिका अनुसार सोही हललाई मन्सुरी समशेरले किनेर महाकाली राईसमिलको हातामा फिल्म हल सञ्चालन गर्नुभयाे । यसरी पश्चिम नेपालमै पहिलाे पटक नेपालगन्जबाट सिनेमा हलकाे शुरुवात भयाे ।

विस्कोहरी टोल रहेको लक्ष्मी चित्र मन्दिरले यहाँकाे सिनेमा हलकाे ईतिहास बाेलिरहेकाे छ । हाल बन्द र खण्डहर अवस्थामा रहेकाे जग्गामा संचालकहरु नयाँ व्यवसायिक प्रतिष्ठान बनाउने याेजना साेचिरहेका छन् । बरिस्ठ साहित्यकार नयनराज पाण्डेका लागि नेपालगन्जमा त्यतिबेलाको एकमात्र लक्ष्मी चित्र मन्दिर साँच्चिकै ‘दृश्य मन्दिर’ जस्तै लाग्थ्यो।
चलचित्र विकास बोर्डद्वारा प्रकाशित ‘चलचित्र मञ्च’मा उहाँले यसबारेमा स्मरण नै लेख्नुभएको छ । आज सम्झँदा लक्ष्मी चित्र मन्दिर नामै विलक्षण लाग्ने गरेकाे उल्लेख गर्दै पाण्डेले लक्ष्मी सिनेमा घर नराखेर लक्ष्मी चित्र मन्दिर जसले नामाकरण ग‍र्‍यो त्यो अज्ञात व्यक्तित्वप्रति सम्मान पलाएको बताउनुभएको छ ।

नेपालगन्जकाे सिनेमा हललाई ब्यवसायिक बनाउन अर्को सृष्टि हलकाे भुमिका महत्त्वपूर्ण रह्याे । व्यवसायिक फड्काे मार्न याेगदान दिएको याे फिल्महल पनि हाल बन्द छ ।

पुराना सिनेहल बन्द हुँदै गर्दा नेपालगन्जमा बागेश्वरी क्युएफ एक्स र राेयल सिनेमा जस्ता अत्याधुनिक प्रविधि सहित कराेडाै लगानीमा नयाँ फिल्म हल खुलेका छन । यी फिल्म हलमा स्वदेशबाट मात्रै होइन भारतबाट समेत दर्शक आउने गरेका छन् ।

प्रकाशित मितिः     २७ माघ २०८०, शनिबार १२:४५  |