मोटरबोट सञ्चालनका लागि धमाधम सफा गरिँदै सुर्खेतको बुलबुले ताल


नेपालगन्ज । मोटरबोट सेवा प्रदायक कम्पनी बोटेबोराले सुर्खेतको विरेन्द्रनगरस्थित बुलबुले तालमा मोटरबोट सेवा विस्तार गर्ने भएको छ ।

तत्कालका लागि एक करोड रुपैयाँ लागतमा कम्पनीले मोटरबोटको व्यवसायिक सञ्चालनको तयारी गरिएको संचालक बि.बि. (बिष्णु) ढकालले बताए।
तालमा त्यहाँ घुम्न पुगेका पर्यटकहरूले फालेका सामान तथा जलकुम्भी लगायतका झारले ताल फोहोर बनेको थियो । वर्षौंदेखि मृत अवस्थामा रहेको जलकुम्भी लगायतले ढाकिएको ताललाई अहिले बोटेबोराले आफ्नै लगानीमा सरसफाइ गरिरहेको उनले जानकारी दिए ।
उनका अनुसार, तालको सरसफाइ सकिएपछि मोटरबोट सञ्चालन गर्ने तयारी छ ।
कम्पनीले बुलबुले तालमा मोटरबोट संचालन गरे वापत बिरेन्द्रनगर नगरपालिकालाई वार्षिक १३ लाख रुपैयाँ बुझाउने सम्झौता भएको ढकालले जानकारी दिए।
बुलबुले तालमा कम्पनीले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङले निर्माण गरेको ११ सिटे फिस्टेल मोटरबोट सञ्चालन गर्नेछ ।
यस अघि आँबुखैरेनीको मर्स्याङ्दी जलविद्युत केन्द्रको जलाशय,  नेपालगञ्जको वाटरपार्क,  चितवनको नारायणघाट र देवघाट साथै सर्लाहीको भरततालमा पर्यटकहरुलाई मोटरबोट सेवा दिँदै आएको छ ।
प्रकाशित मितिः     ६ बैशाख २०८१, बिहीबार १५:४७  |