नेपालगन्ज । बिचाैलियाकाे आरोप लगाउँदै बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण पाेखरेल नेतृत्वकाे टाेलीले यातायात कार्यालय काेहलपुरबाट एक जना कानुन व्यवसायी पक्राउ गरेकाे भन्दै नेपालगंज उच्च अदालत बारले गम्भीर आपत्ति व्यक्त गरेकाे छ ।
बारका कार्यसमिति सदस्य अधिवक्ता शतिषचन्द्र थारुलाई आफ्नो पेशागत व्यवसायिक कामको सिलसिलामा सेवाग्राहीको जग्गा नामसारी सम्बन्धी मुद्दाको कामको लागि भूमि सुधार तथा मालपोत कार्यालय कोहलपुर बाँकेमा गएको अवस्थामा पक्राउ गरिएको बारकाे भनाइ छ ।
अध्यक्ष चित्र बहादुर शाही र सतिव गणेश शर्माद्वारा जारी बिज्ञप्तिमा एक्कासी बाँकेका प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखेल नेतृत्वमा रहेको टोली मालपोत कार्यालय कोहलपुरमा प्रवेश गरी वस्तुगत आधार प्रमाण बेगर विचौलियाको आरोप लगाउदै कानून व्यवसायीलाई नियन्त्रणमा लिई पक्राउ गरेकाे उल्लेख गरिएको छ ।
कानूनले तोकेको विधि र प्रक्रिया समेत पालना नगरी अभद्र व्यवहारको मुद्दा दर्ता गरेको भन्ने कुरा निज कानून व्यवसायीका परिवारजनहरुबाट जानकारी हुन आएको बिज्ञप्तिमा उल्लेख छ ।
बारले पेशागत व्यवसायिक कामका सिलसिलामा अर्धन्यायीक निकायमा उपस्थित भएका कानून व्यवसायीलाई विचौलियाको आरोप लगाई बनावटी अभद्र व्यवहार मुद्दा दर्ता गरेको बताएकाे छ ।
पक्राउ परेका कानून व्यवसायीलाई घरपरिवारका मानिस, कानून व्यवसायी तथा बारका पदाधिकारी समेत संग भेटघाट समेत गर्न नदिई हिरासतमा राखिएको जानकारी प्राप्त भएको हुँदा सो सम्बन्धमा नेपालगंज उच्च अदालत बार एशोसिएशनको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
नेपालको संविधान र कानूनतः पक्षको तर्फबाट सार्वजनिक सरकारी अड्डा अदालत, न्यायीक अर्धन्यायीक निकायमा उपस्थित भई सेवाग्राहीको तर्फबाट बहस पैरवी र वकालत गर्न पाउने कानून व्यवसायीको अधिकार नेपाल कानूनले नै प्रदान गरेकोमा पेशागत कार्यका लागि भूमि सुधार तथा मालपोत कार्यालय कोहलपुरमा उपस्थित भएको बारकाे भनाइ छ ।
आफु कानून व्यवसायी भएको भनी नेपाल कानून व्यवसायी परिषदबाट जारी भएको परिचय पत्र देखाउँदा समेत प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा रहेको टोलीले गैर कानूनी रुपमा पक्राउ गरी विचौलियाको आरोप लगाउदै अभद्र व्यवहार मुद्दा चलाएको घटना प्रति बारले गम्भीर आपत्ती जनाएको छ ।
यस्ता घटना रोक्न र गैर कानूनी बन्दी बनाइएका अधिवक्ता शतिसचन्द्र थारुलाई तत्काल बिना शर्त रिहाई गर्न र निज उपर लगाएको हचुवा एवं झुट्ठा मुद्दा फिर्ता लिन समेत बारले माग गरेकाे छ । प्रमुख जिल्ला अधिकारी पाेखरेलले मालपाेतलाई बिचाैलिया रहित बनाउन उक्त कदम चालेकाे भन्दै भिडियो शेयर गरेका छन् । उनले सेवाग्राही,नागरिक समाज सबैले बिचाैलिया रहित सेवाका लागि प्रशासनकाे हस्तक्षेप महसुस भए पछि याे कदम चालेकाे जिकिर गरेका छन् ।