नेपालगन्ज । दही जमाउन र मही पार्न नेपालमा परम्परागतरुपमा प्रयोग हुँदै आएका ठेकीहरु भारतमा तस्करी हुने गरेको पाइएको छ । पुराना ठेकीहरु संकलन गरेर अवैधबाटोबाट ठेकीहरु भारत जाने गरेको सुइको पाएपछि सशस्त्र प्रहरीले नेपालगन्ज नाकाबाट केही ठेकीहरु बरामद गरेको छ ।
नेपालभित्रै ठेकीहरुको अभाव भइरहेका बेला महंगोमा बेच्ने उदेश्यले भारतमा तस्करी हुने गरेको पाइएको हो । ठेकीका निर्यातकर्ता जगदिश डाँगीका अनुसार नेपालको ठेकी उत्कृष्ट हुने भएकाले भारत हुँदै तेस्रोमुलुकमा यो खपत छ । ‘मैले धेरै बर्ष यसको कारोवार गरे । तर अहिले छाडेको छु । नेपालको ठेकी बिदेशमा राम्रो माग छ ।’–उनले भने । उनका अनुसार अहिले नेपालमै प्रयोगका लागि ठेकीको अभाव छ ।
कोहलपुरस्थित डेरी व्यवसायी संघका महासचिव सन्तोष पौडेलले गाउँ गाउँसम्म खोज्दा पनि ठेकी नपाइएको बताउँछन् । उनी भन्छन्,–‘मैले ठेकीमै जमाएको दही र पारेको मही बेच्दै आएको छु । तर अलि धेरै परिमाणमा बनाउँ भन्दा ठेकी नै पाइएको छैन् ।’
सशस्त्र प्रहरी बल नेपाल नं. ३० गण हेडक्वार्टर बागेश्वरी बाँकेका गणपति सशस्त्र प्रहरी उपरिक्षक विमल डाँगीले भारत लैजाँदै गरिएका पुराना ठेकीमा बरामद गरी आवश्यक कारवाही भरहेको बताए ।
करिब एक महिनाअघि बाँकेको जयसपुर हुँदै अवैध रूपमा ट्रकमा लोड गरेर भारततर्फ लैजाँदै गरिएका पुराना ठेकी बरामद गरिएको थियो ।
नेपालका गाउँबस्तीबाट ठेकी खरिद गर्ने र लैजाने व्यक्तिहरूको पहिचान गर्न नसकिए पनि अनुसन्धानका क्रममा भारतले तिनै पुराना ठेकीको बाहिरी भागमा तामा वा अन्य धातुको प्रयोग गरी अझ आकर्षक बनाएर तेस्रो मुलुकतिर निर्यात गर्ने गरेको पाइएको सशस्त्र प्रहरीका अधिकारीहरू बताउँछन् । तेस्रो मुलकमा सजावट सामग्रीका रूपमा प्रयोग गर्ने गरिएको बताइएको छ ।