निर्धनकाे स्वास्थ्य परिक्षण शिविरबाट ४ सय ४४ जनाले सेवा पाए


 

नेपालगन्ज  : निर्धन उत्थान सन्जिवनी स्वास्थ्य प्रतिष्ठानले शनिबार कोहलपुरमा गरेको स्वास्थ्य परिक्षण शिविरबाट ४ सय ४४ जनाले सेवा लिएका छन् । प्रतिष्ठानले रिलायबल नेपाल लाईफ इन्स्योरेन्सको प्रायोजनमा कोहलपुर नगरपालिका वडा नम्बर ९ स्थित निर्धन उत्थान सन्जिवनी स्वास्थ्य पोलिक्लिनिक भवन झण्डहवामा निःशुल्क स्वास्थ्य परिक्षण गरेको थियो ।

त्यस क्रममा निःशुल्क रुपमा पाठेघर मुखको क्यान्सर तथा स्त्री रोग र जनरल स्वास्थ्य परिक्षण गरियो ।

स्वास्थ्य परिक्षणका क्रममा १ सय ९५ जना महिलाले पाठेघर मुखको परिक्षण गराए, भने ८२ जना महिला र पुरुषले सुगर परिक्षण गराएका थिए । स्वास्थ्य परिक्षण गराउन आएका मध्येबाट ३ जना महिलामा पाठेघर मुखको क्यान्सर लक्षण देखिएको निर्धन उत्थान लघुवित्त वित्तिय संस्थाका वरिष्ठ ब्यवस्थापक  जिताराम गौतमले जानकारी दिए ।

गतवर्ष पनि सञ्चालन गरिएको शिविरमा २ सय ९४ जनाले स्वास्थ्य परिक्षण गराएकोमा २५ जना महिलामा पाठेघर मुखको क्यान्सर लक्षण देखिएको थियो । प्रतिष्ठानले नियमित स्वास्थ्य परिक्षण गर्ने संस्कारलाई विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले यस वर्षपनि उक्त कार्यक्रम राखेको हो । सो क्रममा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत स्त्रीरोग विशेषज्ञ डा. कविता पाण्डे, वरिष्ठ फिजिसियन डा. श्याम बि.क, स्त्रीरोग विशेषज्ञ डा. होमराज अधिकारी, डा. देवेन्द्र आचार्य लगायतले स्वास्थ्य परिक्षण गरे ।

निर्धन उत्थान लघुवित्त वित्तिय संस्था लिमिटेडमा आवद्ध समुह सदस्य तथा आम सर्बसाधारणका लागि उक्त स्वास्थ्य परिक्षण कार्यक्रम सञ्चालन गरिएको हो । शिविर उद्घाटन कार्यक्रममा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडका उपाध्यक्ष एवम प्रतिस्ठानका संस्थापक जनार्दन देव पन्त, कोहलपुर नगरपालिका वडा नम्बर ९ का वडाअध्यक्ष ओपेन्द्रनाथ योगी, स्त्री रोग विशेषज्ञ डा. कविता पाण्डे लगायतले बोलेका थिए ।

संस्थाका उपाध्यक्ष एवम प्रतिस्ठानका संस्थापक पन्तले स्वास्थ्यमा असाध्यै ध्यान दिन जरुरी बताए । सर्बसाधारणको स्वास्थ्यलाई मध्यनजर गर्दै निर्धन उत्थान स्वास्थ्य प्रतिष्ठान सुरु गरेको प्रष्ट्याउँदै भने, ‘यो संस्थाले पछि सबै देशबासीलाई सहयोग गर्न सकोस्, हामीले हाम्रो स्वास्थ्यलाई एक पटक चेकअप गरेर पुग्दैन, हरेक ६/६ महिना अथवा वर्षमा एक पटक भएपनि स्वास्थ्य चेकअप गर्न जरुरी छ ।’ समयमै औषधी उपचार गरेमा रोगबाट बच्न सकिने पन्तले बताए । आम जनसमुदायको स्वास्थ्यमा सुधार ल्याउनु नै प्रतिष्ठानको उद्देश्य भएको उनको भनाई छ ।

प्रतिष्ठानले यस क्षेत्रमा क्लिनिकल सेवा, घुम्ती शिविर, बिद्यालयमा स्वास्थ्य सम्बन्धी सचेतना मूलक कार्यक्रम, प्रयोगशाला सेवा, निःशुल्क स्वास्थ्य शिविर चलाएर आम सर्बसाधारणमाझ स्वास्थ्य सेवा पुर्याइरहेको छ ।

प्रकाशित मितिः     ५ असार २०८१, मंगलवार ११:४६  |