नेपालगन्ज । सम्पुर्ण शैक्षिक सामाग्रीहरु एउटै ठाउमा उपलब्ध गराउने गरी छ बर्ष पहिले बुटवलमा स्थापना गरिएको डेल्टा एजुसकेसन मार्टको आगलागीले नष्ट भएको छ ।
बुटवल मिलनचोकको डेल्टा एजुकेसन मार्टमा बिहीबार सांझ ७ बजेतिर भएको आगलागी ५ घण्टापछि नियन्त्रणमा आएको छ । सबै जलेर नष्ट भइसकेपछि आगो नियन्त्रणमा आएको हो ।
फलामै फलामबाट बनेको भवनको तेस्रो तलाबाट शुरु भएको आगलागीलाई बुटवल उपमहानगरपालिका, गौतमबुद्ध विमानस्थल, रुपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीका १० वटा दमकलले करिब ५ घण्टामा नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी डीएसपी मनोहर भट्टले बताए ।
मार्टको तेस्रो तलामा किताब,कापी सहित स्टेशनरी सामान र खेलकुदका सामान, दोश्रो तलामा कपडा तथा स्कुल कलेजका विद्यार्थीका तयारी डे«स र भुई तलामा नेपालका विभिन्न कम्पनीका जुत्ता र ग्रोसरी सामान थिए । आगलागीबाट सबै तलाका सामान जलेर नष्ट भएका प्रहरीले जनाएको छ ।
१० वटा दमकलसंगै नेपाल प्रहरी र स्थानीय बासिन्दाको प्रयासमा आगलागी अन्यत्र फैलिनबाट राति नै नियन्त्रणमा आएपनि मार्टको भुई तलाको आगो बिहान ७ बजेसम्म दुई वटा दमकलले निभाइरहेका डीएसपी भट्टले बताए ।
मार्टको आसपासमा घना वस्ती र पेट्रोल पम्प समेत नजिकै भएकाले आगलागी वस्तीमा फैलिने डरले स्थानीयहरु भयभित भएका थिए । मार्टका सञ्चालकले विद्युत सर्किट सर्ट भई आगलागी भएको अनुमान गरेपनि प्रहरीले अहिले नै यही कारणले हो भन्ने पत्ता नलागेको बताएको छ ।
मार्टका सञ्चालकहरुले करिब ४० करोड भन्दा बढिको क्षति भएको जानकारी दिएपनि प्रहरीले भने क्षतिको यकिन अझै नभएको बताए ।
छ वर्ष अघि बुटवलका ठूला निजी र सरकारी विद्यालयका सञ्चालक तथा प्रिन्सिपल समेतको लगानीमा सबैखाले शैक्षिक सामग्रीहरु र विद्यार्थी ड्रेस समेत एउटै ठाउंबाट विक्रि गर्ने गरी मार्ट सञ्चालनमा आएको थियो ।