काठमाडौँ —अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुख्यसचिव बैकुण्ठ अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ । अन्तःशुल्क स्टिकर छपाईमा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुख्यसचिव अर्यालविरुद्ध भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय लिएको हो ।
मदिराको स्टिकर छपाईमा अर्यालसहितका अधिकारीले भ्रष्टाचार गरेको भन्दै अख्तियार आइतबार मुद्दा दर्ता गर्ने निर्णय गरेको हो । अख्तियारले विशेष अदालतमा मुद्दा दर्ता गर्न लागेको हो ।
सञ्चार मन्त्रालय मातहतको सेक्युरिटी प्रिन्टिङ सेन्टरले २०७९ असोज ४ मा आन्तरिक राजस्व विभागका लागि अन्तःशुल्क स्टिकर छाप्न टेन्डर आह्वान गरेको थियो । सेन्टरले आह्वान गरेको अन्तःशुल्क स्टिकर छपाइको ठेक्का २०७९ मंसिर २६ मा प्रिन्टसेल प्रालिले पाएको थियो । ४३ करोड ३२ थान अन्तःशुल्क स्टिकर प्रतिथान ८९ पैसाका दरमा छाप्ने गरी प्रिन्टसेल र केन्द्रबीच सम्झौता भएको थियो ।