नेपालगन्ज । प्राचिन स्मारक सहित ३ जना ब्यक्तिहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेकाे छ ।
मंगलबार दिउँसो राप्तिसोनारी गाउँपालिका-८ ढकेरी शम्सेरगंज स्थित सडकखण्डमा शंकास्पद रुपमा रहेका जिल्ला रुपन्देही तिलोतमा- ११ बस्ने बर्ष ५० को खिम बहादुर कुवर,रामु न्यौपाने, दाङ घोराही – १५ बस्ने बर्ष ५८ को निम बहादुर कुवरलाई सोधपुछ र खानतलासी गरेकाे थियाे ।
खिम बहादुर कुवरले पछाडी बोकेको खैरो रङको झोला खोली हेर्दा ओम नम: शिवायाः लेखिएको तुल (रुमाल) मा बेरी लुकाई राखिएको पिधको गोलाई १ फिट ६ ईन्च, पिध देखि शिरको टुप्पो सम्मको उचाई ९ ईन्च, तौल गर्दा ८ किलो ६८० ग्राम भएको पहेलो रङको धातुमा अधिकांश भागमा कालो रङको पालिस लगाएको जस्तो देखिने बस्तु फेला परेकाे थियाे ।
पहेलो रङको धातुको जस्तो बुद्धको मुर्ति रहेको, सोही झोलाको बुद्धको मुर्ति भएको स्थानमा ८ ईन्च लम्बाई कटर थान १, ८ ईन्च लम्बाई भएको पिलास थान १, ८ ईन्च लम्बाई भएको फलामको रेति थान १, र खिम बहादुर कुवरको साथमा रहेको भारतिय सिमकार्ड थान १ सहित निजहरुलाई पक्राउ गरी आवश्यक अनुसन्धान प्रक्रिया अगाडी बढाईएको डिएसपी नारायण डाँगीले बताए ।