नेपालगन्ज : लुम्बिनी प्राविधिक विश्वविद्यालय स्थापना भएको दुई वर्ष पूरा भए पनि भौतिक पूर्वाधार निर्माणका विषय अझै टुंगो लागेको छैन । लुम्बिनी प्रदेश सरकारको गौरवको योजनाअन्तर्गत रहेको उक्त विश्वविद्यालयका लागि जमिनसमेत टुंगो लाग्न सकेको छैन ।
विश्वविद्यालयका लागि बाँकेको खजुरा गाउँपालिकामा झन्डै एक सय बिघा जमिन प्रस्ताव गरी प्रक्रिया अगाडि बढाइएको छ । तर, अहिलेसम्म टुंगो लागेको छैन । विश्वविद्यालयले हाल नेपालगन्जस्थित डिभिजन वन कार्यालय बाँकेको परिसरमा प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयअन्तर्गतको एक सरकारी कार्यालयको नवनिर्मित तीनतले भवनबाट आफ्नो कामकाज गरिरहेको छ ।
भौतिक पूर्वाधार नहुँदा विश्वविद्यालयले ढुक्कसँग आफ्ना कार्यक्रम गर्न सकेको छैन । तर पनि भदौ महिनादेखि पठनपाठन सञ्चालन गरिरहेकाे विश्वविद्यालयको जनाएको छ ।
आफ्नै भौतिक पूर्वाधार नहुँदा पठनपाठन सञ्चालन गर्न चुनौती भए पनि विश्वविद्यालयलाई विस्तारै आफ्नो गतिमा अगाडि बढाउनुपरेको बिश्वबिद्धालयकाे भनाइ छ । स्थापनाको एक वर्षमा आइटीसम्बन्धी तीनवटा कार्यक्रम सञ्चालन गरिरहेकाे छ।
कक्षा १२ को परीक्षा दिएर बसिरहेका विद्यार्थीलाई लक्षित गरेर ‘बिटेकईन आइटी, बिटेकईन कम्प्युटर साइन्स एन्ड एआई र बिटेकईन आइटी इन्जिनियरिङ’ कार्यक्रम सञ्चालन गरिरहेकाे छ । बिश्वबिद्धालयलाई उत्साहजनक बनाउन ब्यवस्थापन पक्षले अपेक्षाकृत काम गर्न नसकेकाे गुनासाे धेरै ठाउँबाट आउने गरेकाे छ ।
बिश्वबिद्धालय निर्माण पहल गरेका खजुरा गाउँपालिकाका पुर्व अध्यक्ष किस्मत कक्षपतिले पुर्वाधार निर्माणकाे काममा भइरहेको ढिलासुस्ती ठिक नभएको बताए । उनले बिश्वबिद्धालयकाे जग्गा प्राप्ति र पठनपाठनलाई बिस्तार गर्नुपर्नेमा जाेड दिए ।